सर्लाही, १८ भदौ । सर्लाहीका किसान यस वर्ष धानबालीमा सिँचाइका लागि आकासे वर्षाभन्दा बढी विद्युतीय मोटरको भरमा निर्भर बन्न बाध्य भएका छन् ।

रोपाइँकै बेला पानीको अभाव झेल्नुपरेका किसान अहिले गोड्ने समयमा पनि दिनरात मोटर चलाएर खेतमा पानी हाल्दै धानबाली सुक्न नदिने प्रयासमा जुटेका छन् ।

हरिपुर नगरपालिका–७ चिताइनका किसान जयनारायण चौधरीका अनुसार लामो समय वर्षा नहुँदा धानबाली जोगाउन मोटर प्रयोग गर्नु नै बाध्यता बनेको छ । ‘केही दिन परेको पानीले राहत मिल्यो । तर, फेरि वर्षा रोकिनासाथ समस्या झन् चर्कियो,’ उनले भने । साउन मध्यतिर परेको थोरै वर्षा बाहेक लामो समयदेखि पर्याप्त वर्षा नभएकाले स्थानीय खोला–नाला नै सुकिसकेका छन् ।

बागमती सिँचाइ आयोजनाबाट पर्याप्त मात्रामा पानी वितरण नभएकाले तल्लो भेगका नहरहरूमा पानी पुग्न सकेको छैन । लालबन्दी नगरपालिका–४ हरिभवनका किसान केदार कार्की भन्छन्,‘नहरमा पालोपालो पानी छोडे पनि खेत भरिभराउ हुने गरी पुग्दैन । धान रोपाइँपछि जहिल्यै पानीको समस्या भइरहेकाले बाली जोखिममै छ ।’

जसका खेतमा मोटर चलाएर भूमिगत पानी निकाल्न सकिन्छ, तिनले धान खेतमा पानी पुर्याइरहेका छन् । तर, भूमिगत पानी ननिस्कने क्षेत्रमा पर्ने किसान भने बाली सुक्दै जाँदा निराश बनेका छन् । पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ पर्ने सुक्खा क्षेत्रका किसान अझै बढी आकासे वर्षामा निर्भर रहन बाध्य छन् ।

किसानले रातदिन मोटर चलाएर सिँचाइ गर्न थालेसँगै नेपाल विद्युत् प्राधिकरणलाई पनि लोड व्यवस्थापनमा चुनौती थपिएको छ । लगातार मोटर प्रयोगले विद्युत् आपूर्ति असन्तुलन हुने खतरा बढेको प्राधिकरणले जनाएको छ ।

किसानहरूले अबको केही दिनमै पर्याप्त वर्षा नभए यस वर्षको धान उत्पादनमा ठूलो घाटा हुने अनुमान गरेका छन् । पानी अभावकै कारण धानबाली कमजोर हुँदै गएको र उत्पादन लागत पनि बढेको उनीहरूको गुनासो छ ।