सप्तरी, १८ भदौ । सप्तरीस्थित एक मात्र सुविधासम्पन्न सरकारी स्वास्थ्य संस्था गजेन्द्रनारायण सिंह अस्पतालको पश्चिमपट्टिको मुख्य गेट ६ महिनादेखि बन्द रहँदा बिरामी र स्थानीयवासी मारमा परेका छन् ।

अस्पतालमा दुई वटा प्रवेशद्वार भए पनि हाल उत्तरतर्फको गेट मात्र सञ्चालनमा छ । यसले पश्चिमतर्फबाट आउने बिरामीलाई लामो बाटो परिक्रमा गरेर अस्पताल छिर्नुपर्ने बाध्यता बनाएको छ ।

स्थानीयवासी कञ्चन झाका अनुसार गेट बन्द हुँदा दैनिक दर्जनौँ बिरामीलाई समस्या भोग्नुपरेको छ । ‘मेन गेट बन्द भएपछि दिनहुँ सिकिस्त बिरामीलाई फर्कनुपर्ने बाध्यता छ । अस्पताल जस्तो संवेदनशील स्थानमा गेट बन्द राख्नु कति उचित हो?’ उनले गुनासो गरे ।

त्यस्तै, खेलानन्द दासले ढिलासुस्तीका कारण कतिपय बिरामीले जीवन नै गुमाउनुपरेको दाबी गरे । उनले आरोप लगाउँदै भने, ‘अस्पताल प्रशासनको बदमासी र कमिसनको खेलकै कारण गेट खोल्ने विषयमा सुनुवाइ भइरहेको छैन ।’

यसबीचमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशप्रसाद साहले पश्चिम गेट स्वास्थ्यकर्मीहरूको आवास नजिक भएकाले सुरक्षाका दृष्टिले बन्द गरिएको स्पष्ट पारे । तर, स्थानीयवासीले यस स्पष्टीकरणलाई अस्वीकार गर्दै बिरामीको हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

गेट बन्द हुँदा सामान्य बिरामी मात्र नभई एम्बुलेन्समार्फत ल्याइने आपतकालीन बिरामीलाई समेत लामो परिक्रमा गरेर अस्पताल भित्र्याउनुपरेको स्थानीयहरूले बताएका छन् । यसले उपचारमा ढिलाइ भई ज्यान जोखिममा पर्न सक्ने चिन्ता बढेको छ ।

पश्चिमतर्फबाट आउने बिरामीलाई सहज पहुँच दिन स्थानीयवासीले पटक–पटक अस्पताल प्रशासनलाई निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । उनीहरूले अब तत्काल गेट खोल्न माग गर्दै चेतावनी समेत दिएका छन् ।