महोत्तरी, १८ भदौ । समयमै पानी नपरेपछि ढिलो गरी धान रोपाइँ सुरु गरेका महोत्तरीका किसान अहिले पनि खेतमा व्यस्त छन् ।

बुधबार बिहान सदरमुकाम जलेश्वर नगरपालिका–८ का किसानहरू झण्डै ३६ जना रोपाहार (धान रोप्ने श्रमिक) लगाएर व्यस्त देखिन्थे । किसान रामआश्रे मण्डल, किताब कवारी, मनोज ठाकुर र असर्फी साहले आफ्ना खेतमा सामूहिक रूपमा रोपाइँ गराइरहेका थिए ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार समयमै पानी नपरेकाले यस वर्ष धान रोपाइँ ढिलो भएको हो । पानी अभावले कतिपय स्थानमा बीउ नै डढेको थियो । तर, साउन १५ गतेपछि वर्षा सुरु भएपछि किसानहरूले रोपाइँ अघि बढाएका थिए । केन्द्रका प्रमुख देवानन्द रायका अनुसार हालसम्म करिब ७६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख रायका अनुसार यसवर्ष महोत्तरीका अधिकांश किसानले बासमति धान रोपेका छन् । बासमति धान कम पानीमै फल्ने र बजारमा बढी मूल्य पाउने भएकाले किसानको प्राथमिकतामा परेको हो ।

महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जमिनमध्ये ६४ हजार ९७७ हेक्टरमा खेती हुँदै आएको छ । यस वर्ष करिब ४० हजार हेक्टरमा धानखेती हुने अनुमान गरिएको केन्द्रले जनाएको छ ।

गत वर्ष समयमा वर्षा भएको कारण ४२ हजार ५०० हेक्टरमा धानखेती गरिएको थियो । त्यस वर्ष १ लाख ५० हजार ८०० मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष भने सिँचाइ समस्याका कारण उत्पादनमा केही कमी आउने अनुमान गरिएको प्रमुख रायले बताए ।

जिल्लाको उत्तर–पश्चिम क्षेत्रमा किसानहरूले मोटर, डिजेल पम्प, इनार, नाला र सानो ट्युवबेलको सहयोगमा सिँचाइ गरेर केही क्षेत्रमा समयमै रोपाइँ गरेका थिए । तर, जिल्लाभरि भने साउन १५ गतेपछि मात्रै धान रोपाइँ सुरु भएको कृषि कार्यालयले जनाएको छ ।