भूमि विधेयकविरुद्ध जसपाको पहिलो चरणको आन्दोलन स्थगित

जनकपुरधाम, १६ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि विधेयकविरुद्ध सुरु गरेको आन्दोलनको पहिलो चरण स्थगित गरेको छ ।
धनुषाका जिल्ला उपसचिव विकास यादवले आन्दोलनको पहिलो चरणमा साथ, सहयोग र सहभागिता जनाउने सम्पूर्ण आन्दोलनकारीप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
उनले भने, ‘भूमि विधेयक हाम्रो अधिकार र पहिचानमाथि प्रहार हो । त्यसैले हामी यसलाई कुनै पनि हालतमा स्वीकार गर्न सक्दैनौँ । पहिलो चरणको आन्दोलन स्थगित भएको छ । तर, दोस्रो चरण अझ सशक्त र योजनाबद्ध हुनेछ । आन्दोलनकारी सबै तयारीसहित रहनुहोस् ।’
जसपाले भूमि विधेयक सुरुदेखि नै आपत्ति जनाउँदै आएको छ । पार्टीले यसलाई किसान र भूमिहीनहरूको हितविपरीत भन्दै सडक आन्दोलनमार्फत विरोध गरिरहेको थियो । पहिलो चरणमा आयोजित प्रदर्शन, सभा र नारा–जुलुसमा ठूलो संख्यामा सहभागिता रहेको जसपाले जनाएको छ ।
नेतृत्व तहका अनुसार दोस्रो चरणको आन्दोलन अझ व्यापक र प्रभावकारी बनाउन तयारी तीव्र पारिएको छ । यस क्रममा पार्टीले सरोकारवाला संगठन, किसान संघसंस्था र आम नागरिकलाई सहभागी गराउँदै आन्दोलनलाई ‘जनताको मुद्दा’का रूपमा अघि बढाउने योजना बनाएको छ ।
यादवले आन्दोलन स्थगित भए पनि पार्टीका कार्यकर्ता तथा समर्थकलाई सतर्क रहन आग्रह गर्दै भने, ‘यो केवल प्रारम्भ हो । हाम्रो अन्तिम लक्ष्य भूमि विधेयक खारेज हुनु हो ।’
जसपा नेपालले आगामी दिनमा आन्दोलनको दोस्रो चरणबारे विस्तृत कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


