जनकपुरधाममा १८औँ पुस्तकालय दिवस सम्पन्न, पुस्तकालयलाई डिजिटल बनाउनुपर्नेमा जोड

जनकपुरधाम, १६ धदौ । ‘हाम्रो पुस्तकालय, हाम्रो भविष्य’ नारासहित मैथिली विकास कोष जनकपुरधामको आयोजनामा अठारौँ पुस्तकालय दिवस भव्य रूपमा मनाइएको छ । कार्यक्रममा ‘पठन संस्कृतिको विकास’ शीर्षकमा विशेष परिचर्चा हुनुका साथै साहित्यकार श्यामसुन्दर शशिद्वारा लिखित पुस्तक ‘जनकपुरधामक इतिहास’ माथि विमर्श गरिएको थियो ।
राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा. डा. अमर प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तमलोपाका केन्द्रीय अध्यक्ष बृषेशचन्द्र लाल, शिक्षाविद् डा. विजय कुमार सिंह, प्रा. डा. सुरेन्द्र लाभ, नगर प्रमुख मनोज साह, प्रा. परमेश्वर कापडी, शिक्षा मन्त्रालयका सचिव दिलीप ठाकुर, प्राज्ञ रमेश रञ्जन झालगायत विभिन्न साहित्यकार, पत्रकार तथा विद्वान्हरू सहभागी थिए ।

कार्यक्रममा वक्ताहरूले ‘जनकपुरधामक इतिहास’ पुस्तकलाई ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण योगदानको रूपमा व्याख्या गरे । ३५९ पृष्ठको यो ग्रन्थ दुई खण्डमा विभाजित रहेको र पहिलो खण्डमा रामायणकालीन अवस्था, जनक वंशका राजाहरूको विवरणदेखि सेनवंशी शासकसम्मको सन्दर्भलाई समेटिएको छ भने दोस्रो खण्डमा आधुनिक जनकपुरधामको सामाजिक, सांस्कृतिक र राजनीतिक परिदृश्यलाई चित्रण गरिएको छ ।

वक्ताहरूले पुस्तकले केवल ऐतिहासिक तथ्य मात्र नभई जनकपुरधाम र मिथिलाको सांस्कृतिक निरन्तरता र पहिचानलाई उजागर गर्ने माध्यम बनेको बताए । नगर प्रमुख मनोज साहले भने, ‘यस्ता कृतिहरू विद्यालय र विश्वविद्यालयमा अध्ययनको स्रोत बन्नुपर्ने आवश्यकता छ । यसले युवा पुस्तामा पठन संस्कृतिको विकास र इतिहासप्रतिको आकर्षण बढाउँछ ।’

प्राज्ञ रमेश रञ्जन झालगायतका वक्ताहरूले पठन संस्कृतिको विकासका लागि पुस्तकालयलाई ज्ञान केन्द्रका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । झाका अनुसार पुस्तकालयहरूलाई आधुनिक प्रविधिसँग जोडेर डिजिटल स्वरूपमा विकास गरेमा नयाँ पुस्ता अझ बढी आकर्षित हुनेछन् ।

लेखक श्यामसुन्दर शशिले पुस्तक तयार पार्ने क्रममा विभिन्न ऐतिहासिक सामग्री, अभिलेख र मौखिक परम्पराहरूलाई संकलन गरेर प्रस्तुत गरिएको बताए । उनले भने, ‘यो पुस्तक लेखनको उद्देश्य जनकपुरधाम मात्र नभई सम्पूर्ण मिथिला सभ्यताको गौरवशाली इतिहासलाई भावी पुस्तासम्म सुरक्षित ढंगले पुर्याउनु हो ।’

साहित्यकार नित्यानन्द मण्डलले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरूले पुस्तकालय दिवसलाई पठन संस्कृतिको प्रवद्र्धन मात्र नभई इतिहास र संस्कृतिको संरक्षणमा समाजलाई सचेत गराउने महत्वपूर्ण अवसरका रूपमा लिएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


