निर्माण व्यवसायीद्वारा वन निर्देशनालयमा तालाबन्दी

जनकपुरधाम, १५ भदौ । भवन निर्माण सम्पन्न भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले आइतबार मधेश प्रदेश वन निर्देशनालय जनकपुरधाममा तालाबन्दी गरेका छन् ।
निर्माण व्यवसायीहरूले निर्देशनालयसँग २०७९ असार २३ गते भएको सम्झौताअनुसार ५ करोडको भवन निर्माण कार्य सम्पन्न गरिसक्दा पनि बक्यौता रकम नदिएको आरोप लगाएका छन् ।
रामजानकी निर्माण सेवाले धरौटी रकमसहित करिब ७० लाख रुपैयाँ अझै भुक्तानी पाउन बाँकी रहेको दाबी गर्दै पटक–पटक ताकेता गर्दा समेत सुनुवाइ नभएकाले तालाबन्दी गर्न बाध्य भएको जनाएको छ ।
सम्झौताअनुसार भवन निर्माणको काम तोकिएको समयमा पूरा हुन नसकेपछि एक वर्ष म्याद थप गरिएको थियो । तर, सो अवधिभित्र पनि ठेकेदारले सम्पूर्ण बिल पेस गर्न ढिलाइ गरेकाले भुक्तानी प्रक्रियामा समस्या उत्पन्न भएको वन निर्देशनालयका निर्देशक जगन्नाथ प्रसाद जयसवालले बताएका छन् । उनका अनुसार कागजी प्रक्रिया र बिलसम्बन्धी त्रुटिका कारण भुक्तानी रोकिन पुगेको हो ।
निर्माण व्यवसायीहरूले भने सम्झौताअनुसारको सम्पूर्ण काम सम्पन्न गरेर प्रयोगमा ल्याइसकिएको भवनका लागि भुक्तानी रोकिनु अन्यायपूर्ण भएको बताएका छन् । उनीहरूले तत्काल बक्यौता रकम भुक्तानी नगरे थप कडा आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन् ।
निर्देशनालयमा तालाबन्दी भएपछि कार्यालयको सामान्य सेवा प्रवाह प्रभावित भएको छ । सेवा लिन आएका सर्वसाधारण पनि अलमलमा परेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


