जनकपुरधाम, १५ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह शनिबार साँझ स्विट्जरल्याण्ड प्रस्थान गरेका छन् । सिंह त्यहाँ आयोजना हुने ‘अन्तर–सरकारी सहकार्य र संघीय प्रणालीमा प्रतिस्पर्धात्मकता’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुने भएका हुन् ।

मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अवधेश झाले भने, ‘यस भ्रमणले संघीय प्रणाली अन्तर्गत अन्तर–सरकारी सहकार्य र प्रतिस्पर्धात्मकता सम्बन्धी अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान गर्न मद्दत पुग्नेछ ।’

अगस्ट ३१ देखि सेप्टेम्बर ६ (भदौ १४–२१) सम्म आयोजना हुने उक्त कार्यक्रममा सिंहले अन्तर्राष्ट्रिय अनुभव अध्ययन र छलफलमा भाग लिने कार्यक्रम रहेको छ । उनी आगामी भदौ २१ गते स्वदेश फर्कनेछन् ।

मुख्यमन्त्री सिंहको अनुपस्थितिमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।