मिथिलाञ्चलमा भदैया रैब पर्व मनाइँदै

जनकपुरधाम, १५ भदौ । पुत्र, पति र परिवारका सदस्यहरूको आरोग्यता तथा सुख–समृद्धिको कामना गर्दै मिथिलाञ्चलमा आज भदैया रैब पर्व धार्मिक आस्था र परम्परागत उत्साहका साथ मनाइँदैछ । विशेषगरी महिलाहरूले सूर्यदेवको आराधना गर्ने यो पर्व महोत्तरी, धनुषा, सिरहा, सर्लाहीसहित सम्पूर्ण मिथिला क्षेत्रमा बिहानैदेखि सुरु भएको छ ।
आज बिहानैदेखि बर्तालु महिलाहरूले घरघरमा ठेकुवा (सक्खर हालेर बनाइने विशेष पकवान) पकाएर केरा, मकै, काँक्रो, स्याउलगायत फलफूल, अक्षता, सुपारी र पानसहित पूजा सामग्री तयारी गरेका छन् । यी सामग्री लिएर उनीहरू नजिकैका पोखरी, तलाउ वा नदीमा पुगेर सूर्यदेवतालाई अघ्र्य अर्पण गर्दै रैब पर्वको पूजाआराधना सुरु गर्छन् ।
रैब पर्व सूर्य देवतालाई नै समर्पित पर्व हो । भदौ महिनामा मनाइने भएकाले यसलाई भदैया रैब भनिन्छ । पूजा सम्पन्न गरी घर फर्किएपछि बर्तालुहरूले आँगन वा पिँढीमा नेउज हाल्ने परम्परा रहिआएको छ ।
नेउज हाल्ने क्रममा भुइँलाई पानी र गङ्गाजलले लिपेर केराको पातमाथि सक्खर हालेर बनाइएको खिर, फलफूल र केरा अर्पण गरिन्छ । प्रत्येक बर्तालुले आफ्नो परिवारका सदस्य संख्याअनुसार दुईवटा नेउज हाल्नुपर्छ । विदेश वा घर बाहिर रहेका परिवारका सदस्यको नाममा पनि अरूले नेउज हाल्ने प्रचलन छ ।
नेउज चढाइसकेपछि मात्र फलफूल ग्रहण गर्ने परम्परा छ । आज राति बर्तालुहरूले नुनबिनाको खाना खाने चलन छ । त्यसमा फलफूल, खिर, केरा, स्याउजस्ता वस्तु मात्र ग्रहण गरिन्छ ।
यस पर्वसँगै मिथिलाञ्चलमा अब प्रत्येक आइतबार महिलाहरू दिनभर उपवास बसेर बेलुका नुनबिनाको खानेकुरा खाई ६ महिनासम्म रैब पर्व निरन्तर मनाउने गर्छन् । कतिपय महिलाले भने महिनाको एउटा आइतबार मात्रै उपवास बसेर पनि पर्व पूरा गर्ने परम्परा पालना गर्छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


