भारतमा लगेर नेपालीको मिर्गौला बेच्ने गिरोहका नाइकेसहित दुई जना पक्राउ

काठमाडौं, १५ भदौ । भारतमा पुर्याएर नेपालीको मिर्गौला बेच्ने गिरोहका नाइकेसहित थप दुई जना पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोले आइतबार पक्राउबारे जानकारी दिएको हो ।
सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट, धादिङलगायत जिल्लामा पुगेको उक्त गिरोहले विभिन्न प्रलोभनमा पारेर पीडितलाई भारत लगेर मिर्गौला बेच्ने गरेको अनुसन्धानमा खुलेको छ ।
ब्यूरोका अनुसार गिरोहका नाइके श्यामकृष्ण भण्डारीलाई कञ्चनपुर नाका र उनका सहयोगी सुजन भारतीलाई वीरगञ्ज नाकाबाट पक्राउ गरिएको हो । यसअघि साउन २० गते सोही गिरोहसँग सम्बन्धित तीन जना पक्राउ परेका थिए ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोमा गिरोहविरुद्ध ४ वटा मुद्दा दर्ता भएको छ भने पाँच जना पीडितले जाहेरी दिएका छन् । जाहेरी र बयानका आधारमा अनुसन्धान अघि बढाइएको छ ।
‘अप्रेसन लाइफ फिल्ड’ नाम दिएर गरिएको अनुसन्धानमा गिरोहले किड्नी दिन तयार भएका व्यक्तिलाई गाडीको व्यवस्था आफैं गरेर भारतको नयाँदिल्ली पुर्याउने गरेको तथ्यसमेत खुलेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


