अर्थमन्त्रीको राजीनामा विपक्षी दलहरूको ‘बटमलाइन’

जनकपुरधाम, १२ भदौ । मधेश प्रदेशसभाको छैठौँ अधिवेशनको पहिलो बैठक बिहीबार विपक्षी दलहरूको अवरोधका कारण अघि बढ्न सकेन । आर्थिक वर्ष २०८२/८३ को बजेट त्रुटिपूर्ण रहेको भन्दै विपक्षी दलहरूले असन्तुष्टि जनाउँदै सदन अवरुद्ध गरेका हुन् ।
बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेट प्रक्रियामा देखिएका त्रुटि औंल्याउँदै अर्थमन्त्री सुनिलकुमार यादवले राजीनामा नदिएसम्म सदन सञ्चालन हुन नदिने चेतावनी दिएका थिए । उनका अनुसार बजेट शुरुवाती चरणमा ४६१ पृष्ठको रहेकोमा पछि थप २९४ पृष्ठ मिलाएर प्रतिपक्षको बहिष्कारबीच पारित गरिनु संसदीय मर्यादाविपरीत छ ।
जसपा नेपालसँगै नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, संघीय समाजवादी र राप्रपाले पनि सदन अवरुद्ध गरे । विपक्षी दलहरूको एकजुट अवरोधका कारण कार्यसूची अनुसारको काम अघि बढ्न सकेन । त्यसअघि बिहान सभामुख रामचन्द्र मण्डलले बोलाएको सर्वदलीय बैठकसमेत विपक्षी दलहरूले बहिष्कार गरेका थिए ।
अवरुद्ध अधिवेशनमा मूलतः शुभकामना मन्तव्य, महालेखापरीक्षकको छैटौँ र सातौँ वार्षिक प्रतिवेदन तथा विषयगत समितिहरूका प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको थियो । तर, विपक्षी दलहरूको निरन्तर नाराबाजी र अवरोधका कारण सभामुख मण्डलले बैठकलाई शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन् ।
प्रदेशसभामा उत्पन्न गतिरोधपछि सत्ता पक्ष र विपक्षबीचको सम्बन्ध थप तनाबपूर्ण बनेको छ । विपक्षी दलहरूले बजेट संशोधन र अर्थमन्त्रीको राजीनामा दुवै माग पुरा नभएसम्म सदन चल्न नदिने अडान लिएका छन् । सत्ता पक्षले भने विपक्षीको मागलाई असंवैधानिक र असमयिक भन्दै अस्वीकृत गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


