धनुषामा असोज २ र ३ गते नेपाल सर्प महोत्सव हुँदै

जनकपुरधाम, १२ भदौ । धनुषामा यही असोज २ र ३ गते नेपाल सर्प महोत्सव–२०२५ आयोजना हुने भएको छ ।
मिथिला वाइल्डलाइफ ट्रष्ट र सेभ द लाइभ्सको संयुक्त पहलमा हुने महोत्सव मिथिला विहारी नगरपालिका–२ स्थित पुरन्दाहामा हुनेछ ।
मिथिला वाइल्डलाइफ ट्रष्टका देव नारायण मण्डलका अनुसार सर्पको जैविक, धार्मिक, सामाजिक र पारिस्थितिक महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष यो महोत्सव आयोजना हुँदै आएको हो ।
यसपटक तेस्रो संस्करणका रूपमा आयोजना हुन लागेको महोत्सवमा स्थानीय समुदाय, विद्यार्थी, वैज्ञानिक, वातावरणविद्, कलाकार तथा सरोकारवाला निकायहरूको व्यापक सहभागिता रहने आयोजकको विश्वास छ ।
महोत्सवमा सर्प र मानवबीचको सहअस्तित्व, संरक्षणमार्फत भविष्य सुरक्षित गर्ने उपाय तथा सर्पसम्बन्धी विभिन्न मिथक र भ्रमबारे वैज्ञानिक तथ्यहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ । साथै, सर्प संरक्षणसँग सम्बन्धित प्रदर्शनी, छलफल, अन्तक्र्रिया तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुनेछन् ।
मण्डलले मधेश प्रदेशमा सर्पदंशका कारण हरेक वर्ष ठूलो संख्यामा मानिस प्रभावित हुने तथ्यांक रहेकाले महोत्सव समुदायमा जागरण ल्याउन महत्वपूर्ण हुने बताए । ‘सर्प प्रकृतिको महत्वपूर्ण हिस्सा हुन् । तिनीहरूको संरक्षणले वातावरणीय सन्तुलन कायम गर्न ठूलो भूमिका खेल्छ,’ मण्डलले भने ।
‘सर्पको महत्व बुझौँ, सह–अस्तित्वलाई सम्मान गरौँ, संरक्षणमार्फत भविष्य सुरक्षित गरौँ’ भन्ने नारासहित आयोजना हुने यस वर्षको नेपाल सर्प महोत्सवमा सहभागी हुन आयोजक संस्थाले सम्पूर्णलाई आह्वान गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


