उच्च अदालतले सदर गर्यो अहिराजलाई कारागारमा राख्ने आदेश

काठमाडौं, १२ भदौ । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) पुर्पक्षका लागि थुनामा रहने पक्का भएको छ । उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर गर्दै उनलाई थुनामा पठाउने निर्णय गरेको हो ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको संयुक्त इजलासले बिहीबार सुनाएको आदेशअनुसार जिल्ला अदालतको निर्णय यथावत् रहने छ । यसअघि, गत साउन १४ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । सो आदेशअनुसार उनी हाल डिल्लीबजार कारागारमा रहेका छन् ।
साउन ४ गते पक्राउ परेका अहिराजविरुद्ध काठमाडौंको नयाँबानेश्वरस्थित आफ्नै डेरामा जबरजस्ती करणी गरेको आरोपसहित पीडित युवतीले जाहेरी दिएकी थिइन् । पीडितले २०८१ जेठ ४ गतेको घटना उल्लेख गर्दै उजुरी दर्ता गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीले नौ दिनमै अनुसन्धान प्रतिवेदन तयार गरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अहिराजले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै उजुरी दिने युवतीविरुद्ध पनि प्रतिवादस्वरूप मुद्दा दर्ता गरेका छन् । तर, अदालतले पीडित पक्षको उजुरीलाई गम्भीर अपराधको दायरामा राख्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।
अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश सदर भएसँगै अब मुद्दा कानुनी सुनुवाइको चरणमा प्रवेश गर्ने भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


