सर्लाही, १२ भदौ । विशेष सूचनाका आधारमा प्रहरीले सर्लाहीमा अवैध हातहतियारसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । रामनगर गाउँपालिका–७ सिसौट टोलका २५ वर्षीय किशन महरा र बागमती नगरपालिका–४ जिरायत टोलका १८ वर्षीय श्याम महरा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार किशन महरा भारतको सोनवर्षाबाट बीआर–०६–डीएम–९५२३ नम्बरको मोटरसाइकलमा मलंगवातर्फ आउँदै गर्दा पक्राउ परेका थिए । प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रारम्भिक सोधपुछमा किशनले बोकेको हतियार श्याम महरालाई राख्न दिएको बयान दिएका थिए । त्यसपछि प्रहरीले श्यामलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनले सो हतियार बागमती नगरपालिका–१२ बागमती नदी किनारमा राखेको बताएका थिए ।

प्रहरीले सोही स्थानबाट कटुवा पेस्तोल एक नाल बरामद गरेको प्रवक्ता राईले जानकारी दिए । पक्राउ परेका दुवै जनामाथि सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।