पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न महासंघ धनुषाको आह्वान

जनकपुरधाम, १२ भदौ । नेपाल पत्रकार महासंघ धनुषा शाखाको पाँचौं बैठक बिहीबार सम्पन्न भएको छ ।
बैठकको प्रारम्भ वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी स्व. राजेश्वर नेपालीको स्मृति दिवसको अवसरमा एक मिनेट मौन धारण गर्दै उनिप्रति श्रद्धाञ्जली अर्पणबाट गरिएको थियो । बैठकले आगामी दिनमा प्रत्येक वर्ष उनको स्मृति दिवसलाई सान्दर्भिक अन्तरक्रिया, छलफल र कार्यक्रमसहित मनाउने निर्णय गरेको छ ।
बैठकमा महासंघ मधेश प्रदेश समितिको जनकपुरधामस्थित जग्गा रक्षार्थ धनुषा शाखाले अगुवाइ गरेको आन्दोलनमा सक्रिय योगदान गर्ने सम्पूर्ण पत्रकार, संघसंस्था, व्यक्ति तथा निकायप्रति धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको छ । साथै, वकिलहरूसँगको विवादका क्रममा घाइते भएका महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ र पत्रकार दिवाकर रायलाई आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी, बैठकले १८ सदस्यीय महासंघ धनुषा कार्यसमितिमा निर्वाचित पाँच जना महिला पदाधिकारी तथा सदस्यलाई प्रत्येक बैठकमा प्रतिव्यक्ति चार सय रुपैयाँका दरले बैठक भत्ता सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकले पत्रकारको श्रम अधिकारको सवाललाई पनि उठान गरेको छ । श्रमजीवी पत्रकार र सञ्चारकर्मीले हकप्राप्त गर्नुपर्ने सप्ताहिक बिदा अनिवार्य लागू गर्न सञ्चारमाध्यमहरूलाई आह्वान गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


