जनकपुरधाम, ११ भदौ । मधेश प्रदेशको छैटौँ अधिवेशन बिहीबार दिउँसो १ बजेबाट प्रारम्भ हुने भएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अधिवेशन आह्वान गरेपछि प्रदेश सभा सचिवालयले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

सचिवालयका अनुसार अधिवेशनको पहिलो बैठकमा विभिन्न दलका तर्फबाट शुभकामना मन्तव्य राखिने, महालेखापरीक्षकको छैटौँ र सातौँ वार्षिक प्रतिवेदन पेश गरिने तथा विषयगत समितिहरूको वार्षिक प्रतिवेदन प्रस्तुत गरिने कार्यसूची रहेको छ । मधेश प्रदेश सभा गठन भएको पाँच वर्षपछि पहिलो पटक महालेखापरीक्षकको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत हुन लागेको तथ्यलाई ऐतिहासिक रूपमा लिइएको छ ।

तर, अधिवेशन सुचारु रूपमा सञ्चालन हुने वा नहुने प्रश्न भने कायम छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत अन्य विपक्षी दलहरूले सभामा अवरोध निरन्तरता दिने चेतावनी दिएका छन् । उनीहरूले मधेश सरकारले आफ्ना माग सम्बोधन नगरेको आरोप लगाउँदै अर्थमन्त्रीको राजीनामा माग गर्ने अडान लिएका छन् ।

यसैबीच, सभामुख रामचन्द्र मण्डलले बिहीबार बिहान ८ बजे सर्वदलीय बैठक बोलाएका छन् । सभामुखका अनुसार, ‘अधिवेशन प्रभावकारी बनाउन दलहरूबीच सहमति र सहयोगको वातावरण आवश्यक छ । सबै दलका भावनाहरू बुझेर छलफल गर्न सर्वदलीय बैठक अपरिहार्य छ ।’

प्रदेशसभा सचिवालयका अनुसार बैठकपछि अधिवेशनको शुरुवात भइसक्दा पनि विपक्षी दलहरूले अवरोध जारी राखेमा कार्यसूची प्रभावित हुन सक्नेछ ।