सिरहा, ११ भदौ । सिरहाको गोलबजारदेखि उदयपुरको कटारी–६ स्थित रिस्कुसम्म झण्डै २२ किलोमिटर लामो नयाँ अन्तरप्रदेशीय सडक मार्ग खुल्ने भएको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीद्वारा निर्माण हुने यस सडकले पूर्व–पश्चिम राजमार्गलाई चुरे क्षेत्र पार गर्दै मदन भण्डारी लोकमार्गसँग जोड्नेछ । चालु आर्थिक वर्ष २०८२/८३ मा प्रारम्भिक चरणका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सघन शहरी आयोजनाका इन्जिनियर उदयनारायण चौधरीले बताएअनुसार सडक निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र प्रारम्भिक वातावरणीय मूल्याङ्कन तयार पार्न पाँच सदस्यीय सहयोग समिति गठन भइसकेको छ । प्रारम्भिक चरणमै करिब तीन किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ ।

नयाँ सडक मार्ग गोलबजारको पुरानो चोहर्वा बजारबाट सुरु भई घुर्मी बजार हुँदै चुरेफेदीका बस्तीहरू पार गर्दै उदयपुरको रिस्कुसम्म पुग्ने छ । यस सडक निर्माणपछि रिस्कुवासीले सिरहाको मर्चैया वा सप्तरीको कदमहा बजार हुँदै लामो र घुमाउरो बाटो प्रयोग गर्नु पर्ने बाध्यता हट्नेछ । यसले समय, खर्च र श्रम दुवै बचत हुने स्थानीय बासिन्दाहरू बताउँछन् ।

गोलबजार–१० निवासी क्षेत्रकुमार आलेले भने, ‘सडक कालोपत्रे भएपछि यातायात सहज हुनेछ, व्यापार–व्यवसाय फस्टाउने र सहरी पूर्वाधारमा गति आउने विश्वास छ ।’

व्यापारी सञ्जय यादवका अनुसार नयाँ सडकले पहाड र तराईबीच हुने ढुवानी सहज बनाउनेछ । ‘उदयपुरको उत्पादन गोलबजारको व्यापारिक केन्द्रसम्म सजिलै पुग्नेछ र तराईको उपज पहाड पठाउन सजिलो हुनेछ । ढुवानी लागत कम हुँदा व्यापारमा प्रतिस्पर्धा बढ्नेछ,’ उनले भने ।

सडक निर्माण आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि पूर्वकानुनमन्त्री तथा प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठ, मधेश प्रदेशसभा सदस्य मनोजकुमार सिंह, गोलबजार नगरप्रमुख श्यामकुमार श्रेष्ठ, सम्बन्धित वडाध्यक्षहरू तथा आयोजना इन्जिनियर चौधरीको सहभागितामा अनुगमन र समन्वय संरचना बनाइएको छ । पूर्वमन्त्री श्रेष्ठले समितिलाई एक महिनाभित्र सडकको ट्रेस निर्धारण गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् ।

सिरहा–उदयपुर सडकमार्गले दुर्गम क्षेत्रलाई शहरी पूर्वाधारसँग जोड्ने मात्र नभई आवागमनमा सहजता, व्यापार, कृषि, पर्यटन र स्थानीय सेवा सुविधामा दीर्घकालीन प्रभाव पार्ने देखिन्छ । चोहर्वा बजार विकास समितिका अध्यक्ष नागेन्द्रकुमार महतोका अनुसार, ‘यस सडकले क्षेत्रीय विकासको गति बढाउने, बजार पहुँच सहज बनाउने र स्थानीय समुदायको जीवनस्तरमा सकारात्मक प्रभाव पार्नेछ ।’