जनकपुरधाम, ११ भदौ । भूमि विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबार पनि जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ ।

जनकपुरधामको प्रमुख केन्द्र जनक चोकमा आयोजित प्रदर्शनमा सहभागी जसपा कार्यकर्ताहरूले सरकारले ल्याएको भूमि विधेयक तत्काल फिर्ता लिन माग गरेका हुन् ।

जसपाका नेताहरूले भूमि विधेयक किसान र भूमिहीनको हितविपरीत रहेको आरोप लगाउँदै यसले सामाजिक न्याय र समतामूलक भूमि वितरणको सिद्धान्तलाई कमजोर बनाउने चेतावनी दिए । उनीहरूले विधेयकले भूमिहीन र विपन्न वर्गलाई अधिकार दिनुको सट्टा ठूला उद्योगपति र जमिनदारलाई मात्र फाइदा पुर्याउने दाबी गरे ।

प्रदर्शनलाई सम्बोधन गर्दै जसपा नेपालका स्थानीय नेताहरूले भूमि विधेयक खारेज नभएसम्म आन्दोलनलाई अझ तीव्र बनाइने चेतावनी दिएका छन् । ‘यो विधेयकले गरीब र भूमिहीनलाई अझ समस्या पार्नेछ, त्यसैले खारेज नगरेसम्म सडकमा हाम्रो विरोध जारी रहनेछ,’ उनीहरूको भनाइ थियो ।

जनक चोकमा गरिएको प्रदर्शनका कारण करिब एक घण्टासम्म सवारीसाधन आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ । व्यस्त व्यापारिक क्षेत्रमा भएको विरोध प्रदर्शनले सर्वसाधारणलाई केही समय असुविधा भए पनि कार्यक्रम शान्तिपूर्ण ढंगले सम्पन्न भएको जनाइएको छ ।

जसपाले भूमि विधेयकविरुद्ध देशव्यापी आन्दोलन गर्ने घोषणा गरिसकेको छ । पार्टीले प्रदेशदेखि स्थानीय तहसम्म विभिन्न चरणमा विरोध कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । यसअघि पनि जसपा कार्यकर्ताले विभिन्न जिल्लामा प्रदर्शन गर्दै विधेयकको प्रतिलिपि जलाउने, नारा जुलुस गर्ने लगायतका कार्यक्रम गरेका थिए ।

जसपा नेतृत्वले सरकारलाई किसान र भूमिहीनको पक्षमा नीति ल्याउन आग्रह गर्दै भूमि विधेयक खारेज नगरे आन्दोलन अझ व्यापक हुने चेतावनी दिएको छ ।