गणेश चतुर्थीको दिन गणेश मन्दिरको शिलान्यास

जनकपुरधाम, ११ भदौ । मधेश प्रदेश सभा सदस्य तथा जसपा नेपालका नेता रामअशिष यादवले धनुषाको औरही गाउँपालिका–१ पौडेश्वर पुरनदेहियामा गणेश मन्दिरको शिलान्यास गरेका छन् ।
सिद्धि विनायक विघ्नहर्ता भगवान गणेशको जन्मोत्सवकै दिन गरिएको विशेष कार्यक्रममा यादवले मन्दिर निर्माणले स्थानीयको लामो समयदेखिको आकांक्षा पूरा गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले गणेश मन्दिर केवल धार्मिक स्थल मात्र नभई शिक्षा, संस्कार, समृद्धि र धार्मिक पर्यटन प्रवद्र्धनको केन्द्र बन्ने बताए । उनले स्थानीय बासिन्दाले लामो समयदेखि श्रद्धापूर्वक पूजा–अर्चना गर्दै आएको परम्परालाई स्थायी स्वरूप दिन मन्दिर निर्माण महत्त्वपूर्ण भएको उल्लेख गरे ।
शिलान्यास कार्यक्रममा औरही गाउँपालिका–१ का वडा सदस्य एवम् ज्येष्ठ नागरिक रामअशिष यादव, युवा नेता राम बिहारी यादव, समाजसेवी प्रमोद यादवलगायत स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले गाउँकै पहलमा सुरु गरिएको यो कार्यले धार्मिक आस्था मात्र नभई सामाजिक एकता र सामुदायिक विकासलाई समेत सबल पार्ने विश्वास व्यक्त गरे ।
आयोजक समितिका अनुसार गणेश जन्मोत्सवलाई विशेष अवसर मानेर स्थायी मन्दिर निर्माणको काम अघि बढाइएको हो ।
सांसद यादवले धार्मिक आस्था र सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीयको सक्रियता अनिवार्य रहेको भन्दै मन्दिर निर्माणमा सहयोग र एकता आवश्यक भएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


