धान सुक्दै जाँदा किसान सडकमा

रौतहट, ११ भदौ । रौतहटको यमुनामाई गाउँपालिका अन्तर्गत राजपुर तुलसी र भेडियाही क्षेत्रका किसानहरूले सिँचाइको अभावमा धान खेती सुक्दै गएको भन्दै बुधबार गौर–चन्द्रपुर सडक खण्ड अवरुद्ध गरेका छन् ।
लामो समयदेखि धानबाली सिँचाइ नपाएर सुकेको र पटक–पटक गुनासो गर्दा पनि सम्बद्ध निकाय मौन बसेको आरोप लगाउँदै किसानहरू सडकमा उत्रिएका हुन् ।
आन्दोलनमा सहभागी किसानहरूले जिल्ला प्रशासन कार्यालयमा पटक–पटक ज्ञापनपत्र बुझाए पनि कुनै पहल नभएपछि बाध्य भएर सडक अवरोधमा उत्रिनु परेको बताएका छन् ।
आन्दोलनमा सहभागी यमुनामाई–२ का वडा अध्यक्ष सिताराम यादवले किसानहरूको मागलाई राज्यले बेवास्ता गरेको आरोप लगाए । उनले भने, ‘धानबाली बचाउन सिँचाइ नहरमा पानी ल्याइदिन पटक–पटक माग गर्यौं । तर, अझैसम्म प्रक्रिया अगाडि नबढ्दा किसानहरू निराश भएका छन् ।’
सडक अवरोधका कारण गौर–चन्द्रपुर सडक खण्डमा आवतजावत गर्ने सवारीसाधन बीचमै रोकिएका थिए । लामो दूरीका बस तथा मालवाहक गाडी घण्टौँजसो अलपत्र परे भने स्थानीय यात्रुहरू समेत गन्तव्यमा पुग्न कठिनाइ भएको थियो ।
आन्दोलनकारी किसानहरूले तत्काल प्रभावकारी पहल नगरे सरकारविरुद्ध थप कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् । ‘धान खेती सुक्न लागेको छ, हाम्रो पीडा कसैले देखेको छैन । माग पूरा नभएसम्म आन्दोलन जारी राख्छौं,’ उनीहरूको भनाइ छ ।
स्थानीयवासीका अनुसार यस क्षेत्रका प्रमुख सिँचाइ नहरहरू वर्षौंदेखि मर्मत–सम्भार नहुँदा प्रयोगविहीनजस्तै बनेका छन् । वर्षातमा नहरमा पानी भरिए पनि वितरण व्यवस्थापन अभावले खेतीमा समयमै सिँचाइ पुग्न सकेको छैन । यस कारण किसानहरूले उत्पादनमा ठूलो घाटा बेहोर्नुपर्ने अवस्था आएको छ ।
यसैबीच, स्थानीय प्रशासनले किसानहरूको आन्दोलनलाई गम्भीरताका साथ लिने प्रतिबद्धता जनाएको भए पनि तत्कालीन समाधानका बारेमा स्पष्ट योजना सार्वजनिक गरेको छैन । किसानहरूले भने माग पूरा नभएसम्म आन्दोलनलाई अझ संगठित ढंगले निरन्तरता दिने चेतावनी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


