जनकपुरधाम, ११ भदौ । संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध दलहरुले आगामी भदौ २० गते जनकपुरधाममा आयोजना गर्न लागिएको जनजागरण कार्यक्रममा एकजुट भएर सहभागिता जनाउने घोषणा गरेका छन् ।

तराई–मधेश लोकतान्त्रिक पार्टी धनुषाका अध्यक्ष धिरेन्द्र बहादुर सिंहको अध्यक्षतामा बिहीबार जनकपुरधाममा सम्पन्न बैठकमा उक्त निर्णय गरिएको हो ।

बैठकमा जसपाका पशुपति यादव, जितेन्द्र यादव, दिपेन्द्र कुमार कापड, रामुपाका राजु चौधरी, संजय कुमार सिंह, लोसपाका जीवेन्द्र झा, परमेश्वर साह, रामज्ञान मण्डल, तमलोपा नेतृहरू बिन्दु ठाकुर, बिभा ठाकुर, पुनम झा मैथिल, जोगी राय, सतीश कुमार लाल दास तथा जनता प्रगतिशील पार्टीका चन्दन साहलगायतको उपस्थिति थियो ।

मोर्चाले यसअघि काठमाडौं, रुपन्देहीको सियारी र कैलालीको घोडाघोडीमा जनजागरण कार्यक्रम सम्पन्न गरिसकेको छ । जनकपुरधाममा हुने चौथो कार्यक्रमलाई अझ व्यापक बनाउन सबै घटक दल सक्रिय भएका छन् ।

बैठकले मधेश आन्दोलनको क्रममा रौतहट, महोत्तरीसहितका जिल्लाका आन्दोलनकारीमाथि लगाइएका झुट्टा मुद्दा खारेज गर्न माग गर्दै सरकारविरुद्ध संयुक्त विरोध कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । साथै, सरकारले मधेश आन्दोलनका क्रममा गरिएका २२ बुँदे र ८ बुँदे सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।

त्यस्तै, बैठकले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र मधेशका आन्दोलनकारीमाथि भएको राज्य दमनको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

भूमिसम्बन्धी विधेयकप्रति असन्तुष्टि जनाउँदै मोर्चाले सरकारले प्रस्तुत गरेको प्रस्ताव मधेशका भूमिहीन, दलित र सीमान्तकृत समुदायलाई बेवास्ता गरी भूमाफियालाई फाइदा पुग्ने खालको रहेको आरोप लगाएको छ । अव्यवस्थित बसोबासीको नाममा भूमाफियालाई कानुनी सुरक्षा दिन खोजिएको भन्दै मोर्चाले त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

मोर्चाका नेताहरुले भदौ २० गते हुने जनजागरण कार्यक्रमलाई मधेशका हक–अधिकारको ऐतिहासिक प्रर्दशन बनाउने दृढता व्यक्त गरेका छन् ।