जनकपुरधाम, ११ भदौ । रौतहटको समाज हल्लाउने ‘सुटकेशभित्र महिलाको शव’ काण्ड अझै ओझेल पर्न सकेको छैन । यो घटनाका मुख्य आरोपी लक्ष्मण पासवान प्रहरीको हातमा पर्दै गर्दा आत्मदाहको प्रयासका कारण मृत्यु भएपछि घटना झनै पेचिलो बन्दै गएको छ । प्रहरीले सामान्य बयान समेत लिन नपाउँदै उनी मृत्युको मुखमा पुगेका हुन् ।

बुधबार बिहान जलेको अवस्थामा भेटिएका पासवानलाई प्रहरीले उद्धार गरी काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याए पनि साँझ ६ बजे उनको मृत्यु भयो । आत्मदाहअघि उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशले अझै धेरै प्रश्न खडा गरेको छ । उनले भिडियोमै प्रेमिका रुबी कुमारी साहको हत्या गरेको स्वीकार गर्दै ‘ऊबिना बाँच्न सक्दिनँ, म पनि मर्छु’ भनेका थिए ।

कक्षा ९ मै अध्ययनरत हुँदा लक्ष्मण र रुबीबीच प्रेम सम्बन्ध सुरु भएको थियो । घरपरिवारको विरोध बीच दुवै भारतको सीतामढी पुगेर विवाह गरेका थिए । तर, विवाहपछि पनि रुबीलाई माइतीले अस्वीकार गरेको भिडियोमा पासवानले दाबी गरेका छन् ।

उनका अनुसार रुबीकी आमाले निरन्तर अपमान, दबाब र हिंसाले जीवन दुर्गम बनाइन् । यही पीडाले अन्ततः दुबैको सम्बन्ध त्रासदीमा टुंगिएको हो ।

शनिबार रुबी गौर नगरपालिका–५ स्थित डेरामा पुगेकी थिइन् । त्यही दिन विवाद चर्किएपछि लक्ष्मणले उनलाई घाँटी थिचेर हत्या गरेको र शव सुटकेशमा हालेर लैजाने प्रयास गरेको स्वीकार उनले भिडियोमै गरेका छन् । तर, ई–रिक्सा बिग्रिएपछि सुटकेश त्यहीँ छाडेर भागेका थिए । प्रहरीले शव बरामद गरेपछि अनुसन्धान तीव्र भएको थियो ।

आत्महत्या गर्नुअघि पासवानले ‘कुमारी ज्योति’ नामक फेसबुक आईडीबाट ९ मिनेट लामो भिडियो सार्वजनिक गरेका थिए ।भिडियोमा उनले रुबीको हत्या स्वीकार गर्दै आफ्नै आमाबुबा, रुबीकी आमा र अन्य व्यक्तिलाई दोषारोपण गरेका छन् ।

उनले प्रेमिकाको ट्याटु देखाउँदै ‘मृत्युपछि पनि म उसकै संग रहनेछु’ भनेका छन् । प्रहरीको प्रशंसा गर्दै दोषीलाई कानुनी कारबाहीको माग गरे पनि आफू हत्यारा भएकाले सजाय स्वीकार नगरी आत्महत्या रोजेको उनले बताएका थिए ।

यो घटनाले दुबै परिवारलाई बिचल्लीमा पारेको छ । रुबीका पति भारतमा छन् । उनी ४ वर्षीय छोरा लिएर नेपालमै बसेकी थिइन् । अब ४ वर्षीय बालक आमाविहीन बनेका छन् ।

अर्कातिर, लक्ष्मण पासवानको मृत्युले उनका आमाबुबा, पत्नी र पाँच छोराछोरी अभिभावकविहीन बनेका छन् । मुख्य आरोपीकै मृत्यु भएपछि यो काण्ड अझै अधुरो बनेको छ । उनले भिडियोमा लिएका नाम र आरोपको सत्यता प्रमाणित हुन सकेको छैन । प्रहरी अनुसन्धान अवरुद्ध भएको छ ।