रुबी हत्या प्रकरण : मुख्य आरोपी पासवानको मृत्यु, फाइल बन्द हुने अवस्थामा

जनकपुरधाम, ११ भदौ । रौतहटमा सुटकेसमा शव फेला परेको रुबी साह हत्या प्रकरणमा मुख्य आरोपी लक्ष्मण पासवानको मृत्यु भएपछि अनुसन्धान फाइल बन्द हुने अवस्थामा पुगेको छ ।
रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार लक्ष्मणको बुधबार साँझ ६ बजे काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
चार दिनदेखि प्रहरीको तिव्र खोजीमा रहेका पासवान बुधबार बिहान करिब ७ बजे माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचामा जलेर घाइते अवस्थामा फेला परेका थिए । प्रारम्भिक अनुसन्धान अनुसार उनले आत्महत्या गर्न आफैंमा पेट्रोल छर्केर आगो लगाएका थिए । उनलाई गौरमा उपचारका लागि ल्याइएको थियो । त्यसपछि थप उपचारका लागि काठमाडौं पठाइएको थियो ।
मुख्य आरोपीको मृत्यु भएपछि अनुसन्धान फाइल बिस्तारै बन्द हुने अवस्थामा पुगेको रौतहटका प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बताए । ‘अहिले घटना अनुसन्धानकै क्रममा छ । मुद्दा दर्ता त हुन्छ नै, हत्या घटनामा अन्यको संलग्नता बारे पनि अनुसन्धान जारी छ । तर, हत्यामा लक्ष्मण मात्र संलग्न भएको पाइए फाइल क्रमशः बन्द हुन्छ,’ उनले भने ।
उक्त प्रकरणमा रुबीको शव सुटकेसमा राखेर फाल्ने ई–रिक्सा चालक राजकुमार महरालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । डीएसपी कार्कीका अनुसार अनुसन्धानका क्रममा राजकुमारले आफूलाई पाँच सय रुपैयाँ दिएर शव फाल्न लगाएको बयान दिएका छन् ।
लक्ष्मण पासवानले आत्महत्या गर्नुअघि भिडियोमा रुबीको हत्या स्वीकारेका थिए । भिडियोमा उनले भनेका छन्, ‘रुबीलाई मारेदेखि मेरो हात काँपिरहेको छ । मेरो जान मरिसकेकी छन् । म बाँचेर के गर्नु । पक्राउ परे जेल जानुपर्छ, १०–१५ वर्ष सजाय भोग्नुपर्छ ।’ उनले रुबीसँग ६ कक्षादेखि प्रेम सम्बन्ध रहेको, दुईपटक विवाह पनि गरेको खुलाएका छन् । तर, गरिबीका कारण रुबीकी आमाले स्वीकार नगरेको उनले भिडियोमा बताएका थिए ।
माधव नारायण नगरपालिका–६ माधोपुर निवासी रुबी साह भारतको बिहारस्थित मुजफ्फरपुरमा विवाह गरिसकेकी थिइन् । उनी केही महिनादेखि गौरमा डेरा लिएर आफ्ना ४ वर्षीय छोरालाई पढाउँदै आएकी थिइन् । लक्ष्मणका पनि दुई छोरा छन् । वडा नम्बर–६ का वडाध्यक्ष रामनरेश यादवका अनुसार लक्ष्मण करिब ७ महिना अघि विदेशबाट फर्केका थिए । रुबीको शव राखेर फालेको सुटकेस उनी विदेशबाट ल्याएका थिए ।
घटना यसरी घटेको थियो
गत शनिबार राति १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो । शवमा घाँटीमा डोरी र सल बेरेको अवस्था थियो । परिवारले रुबीको शव पहिचान गरेका थिए ।
प्रहरीका अनुसार लक्ष्मण १४ वर्षअघि रुबीलाई अपहरण गरेर भारतमा लुकाएको आरोपमा पनि पक्राउ परेका थिए । यसले अनुसन्धानलाई सहज बनाएको थियो ।
शव व्यवस्थापनको क्रममा लक्ष्मणले गौरको कबिर चोकबाट राजकुमार महराको ई–रिक्सा बुक गरेर शव फाल्न लगाएका थिए । ई–रिक्साको पाङ्ग्रा बिग्रिएपछि शव बोकेर पैदल नै अघि बढेको थियो ।
शनिबार अपरान्ह ४ बजे रुबी बजार पुगेकी थिइन् । ब्युटी पार्लरबाट फर्केपछि उनी आफ्नी आमालाई फोन गरी सामान लिन भनेकी थिइन् । त्यसपछि उनी बेपत्ता भइन् । लक्ष्मणले उनलाई आफ्नो कोठामा बोलाएर हत्या गरेको र शव सुटकेसमा राखेर फाल्न लगाएको भिडियोमा खुलेको छ ।
लक्ष्मणले आफ्नो छातीमा रुबीको तस्वीर र हातमा नामको ट्याटु समेत बनाएका थिए । यस प्रकरणले रौतहटमा सनसनी फैलाएको थियो । मुख्य आरोपीको मृत्यु र घटनाको प्रकृति अनुसार अनुसन्धान फाइल क्रमशः बन्द हुने अवस्थामा पुगेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


