जनप्रतिनिधिको अमानवीय कुकृत्य

बारा, १० भदौ । प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले शिक्षक नागेश्वर यादवलाई वडा कार्यालयमै बन्धक बनाएर नांगै पारेर कुटपिट गरेको घटना बाहिरिएपछि सिंगो मधेश प्रदेशमा स्तब्धता फैलिएको छ ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित कुशवाहा र उनको समूहले सोमबार राति ९ जनाको सहभागितामा शिक्षक यादवलाई पाता फर्काएर हात बाँधेर कुटपिट गरेको पुष्टि भएको छ ।
पीडित यादवका अनुसार वडाध्यक्ष कुशवाहाले आफ्नो पाइन्टको खल्तीबाट पैसा निकालेर घरेलु मदिरा किनेर आफुसहित अरुलाई पनि खुवाएर कुटपिट गरेको खुलासा गरेका छन् । घटना क्यामेरामा समेत कैद भएको छ ।
यादवले भने, ‘मधेशको रमेश खरेल हुँ, मलाई मारे पनि केही नहुने सोचमा उनीहरूले कुटपिट गरे । पहिले शिक्षक पवन सिंहलाई नाक भाँचेर कुटेका थिए, त्यसमा ७ दिन कैद र जरिवाना मात्र भएको थियो । त्यसको आधारमा मलाई धम्की दिएर कुटेका हुन् ।’
प्रहरीले वडाध्यक्ष कुशवाहालाई पक्राउ गरी शरीर बन्धक र कुटपिट सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक रुपमा दुई पटक ४–४ दिनको म्याद थप भएपछि थप ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रसौनी गाउँपालिका अध्यक्ष विनोदप्रसाद जयसवालले पीडितको जाहेरी बुझ्ने वित्तिकै प्रहरीलाई कारबाहीका लागि निर्देशन दिएको बताए ।
वडाध्यक्ष कुशवाहा विवादित राजनीतिज्ञको रूपमा परिचित छन् । यसअघि पनि उनले पर्साको एउटा माविका शिक्षकलाई नाक भाँच्ने गरी कुटपिट गरेको, विभिन्न चेक बाउन्स मुद्दा र हिन्दूवादी नेता काशीनाथ तिवारीको हत्या प्रकरणसँग पनि उनको नाम जोडिएको छ । माओवादी केन्द्रले घटनापछि कुशवाहालाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको छ ।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले भने, ‘यो तहको हिंसा खेदजनक छ । अपराध संरक्षण हुन दिन्नौँ । कानूनबमोजिम सबै कारबाही गर्न मातहतलाई निर्देश दिइएको छ ।’
मानवअधिकार आयोगमा पनि वडाध्यक्ष कुशवाहाको व्यवहारविरुद्ध उजुरी परेको छ । स्थानीय तहका जनप्रतिनिधिको यस्तो हिंसात्मक व्यवहारले राजनीतिक संस्कृतिमा नै नकारात्मक प्रभाव पार्दै मधेश प्रदेशको सामाजिक विश्वास कमजोर बनाउने चिन्ता व्यक्त गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


