मलङ्गवामा धुलाम्मे हुलाकी सडक

सर्लाही, १० भदौ । सदरमुकाम मलङ्गवाको मुख्य सडक खण्ड अझै धुलाम्मे अवस्थामै रहेको छ । पटक–पटक स्थानीय आन्दोलन र दबाबका बाबजुद पूर्व–पश्चिम हुलाकी सडकको कालोपत्रे काम अलपत्र परेपछि स्थानीयवासी पुनः आन्दोलित हुने तयारीमा छन् ।
एक महिनाअघि युवा र महिलाहरूले सडक कालोपत्रे गर्न माग गर्दै चक्काजाम गरेका थिए । त्यसबेला निर्माण व्यवसायीले काम तत्काल सुरु गर्ने आश्वासन दिएको भए पनि प्रत्यक्ष प्रगति स्थानीयवासीले देख्न पाएका छैनन् ।
मलङ्गवा बजार क्षेत्रको सडक कालोपत्रे जिम्मा हिमडुङ एण्ड ठोकर÷हीरा एण्ड नमिता जे.भी. ले पाएको थियो । तर, कम्पनीले बारम्बार म्याद थप्दै काम नगरेको गुनासो स्थानीयवासीले गरे ।
स्थानीय नागेन्द्र चौधरीले भने, ‘सडकको धुलोले बस्नै नसक्ने अवस्था छ । बारम्बार आन्दोलन गर्दा पनि ठेकेदारले वाचा तोडेको छ ।’ अर्का स्थानीय शिवचन्द्र चौधरीले भने, ‘ठेकेदारले पटक–पटक मिति तोके पनि काम नगरेर स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेका छन् ।’
हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरले ठेकेदारलाई बारम्बार पत्र काटेर दबाब दिँदै आएको छ । जिल्ला समन्वय समितिका सभापति र प्रमुख जिल्ला अधिकारीले समेत ताकेता गरे पनि काममा गति आएको छैन । योजना कार्यालयका इन्जिनियर रन्जित यादवले भने, ‘ठेकेदार सुस्त गतिमा काम गरिरहेका छन् । हामी निरन्तर ताकेता गरिरहेका छौँ ।’
स्थानीय युवा सोहन झाले भने, ‘अब त सडक कालोपत्रे नहुन्जेल यातायात नै सञ्चालन हुन नदिने गरी कडा आन्दोलन गर्छौं ।’ मलङ्गवामा मुख्य बजार क्षेत्र बाहेक अन्य स्थानमा हुलाकी सडक कालोपत्रे काम सकिएको भए पनि बजार क्षेत्रमा काम अलपत्र हुँदा स्थानीयको दैनिकी कष्टकर बनेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


