पूर्वमन्त्री साहविरुद्धको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा पाँच वर्षदेखि सर्वोच्चमा विचाराधीन

काठमाडौं, १० भदौ । पूर्वमन्त्री सञ्जयकुमार साह ‘टकला’ विरुद्ध दर्ता गरिएको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा पाँच वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन छ । २०७७ असोज ५ गते सर्वोच्चमा पुगेको यस मुद्दामा अहिलेसम्म १४ पटक सुनुवाइको लागि इजलास तोकिएको छ ।
सुनुवाइको क्रममा एक पटक पेसी सूचना दिइएको, एक पटक प्रत्यर्थी झिकाउने, दुई पटक अन्य आदेश जारी गरिएको र चौध पटक साप्ताहिक पेसी सूचीबाटै मुद्दा हटाइएको थियो । दुई वर्षदेखि सुनुवाइ हुन नसकेको मुद्दामा २०८० भदौ ६ मा न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र डा. नहकुल सुवेदीको संयुक्त इजलासले मिसिल झिकाउने आदेश दिएको थियो ।
पछिल्लो सुनुवाइ मंगलबार प्रधानन्यायाधीश प्रकाशमान सिंह र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासको पहिलो नम्बरमा रहेको मुद्दा महान्यायाधिवक्ता कार्यालयबाट स्थगित भएको छ । यसै कारण साहको मुद्दाको अन्तिम सुनुवाइ कहिले हुनेछ भन्ने अनिश्चित छ ।
२०७६ फागुन १५ मा विशेष अदालतका न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले साहलाई भ्रष्टाचारमा ४ वर्ष जेल सजाय र १९ करोड ४४ लाख ३८ हजार ९८३ रुपैयाँ जरिवाना तिर्न आदेश दिएको थियो । त्यसैगरी, सम्पत्ति शुद्धीकरणमा १४ करोड २५ लाख १ हजार ७१६ रुपैयाँ गैरकानुनी ठहर गरिएको थियो । २०७६ फागुन २९ मा विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।
विशेष अदालतको फैसला मन नपरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ असोज ५ गते भ्रष्टाचार मुद्दा र असोज ९ गते सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको थियो । साह पनि २०७७ असोज १२ मा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च पुगेका थिए ।
साहविरुद्ध २०७३ पुस २५ मा अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अनुसन्धानअनुसार साहले आफ्नो बाबु साधुसाह सुडी, आमा दुलारीदेवी साह, श्रीमती रंगीलाकुमारी साह, भाइ रामकुमार साहसहित अन्य आठ जनासँग मिलेर ३१ करोड ५० लाख २६ हजार पाँच सय ५९ रुपैयाँ बराबरको सम्पत्ति लुकाएको आरोप छ ।
सञ्जयकुमार साह हाल डिल्लीबजार कारागारमा जन्मकैद सजाय भोगिरहेका छन् । उनी धनुषा जिल्ला अदालतद्वारा सुनाइएको रामानन्द चोक बम विस्फोटमा मुख्य योजनाकार ठहरिएर दोषी ठहरिएका थिए । उक्त विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


