जनकपुरधाम, ९ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सोमबार मधेशमा भूमि विधेयकको विरोधमा प्रतिलिपी जलाएको छ । जसपा नेपालले सुरुदेखि नै विरोध गर्दै आएको उक्त विधेयकलाई देशव्यापी विरोध कार्यक्रमको रुपमा अघि बढाउँदै आएको छ ।

धनुषा जिल्लामा भएको विरोध कार्यक्रम जसपा धनुषाका जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य, नेता तथा कार्यकर्ताहरू उपस्थित थिए । सहभागीहरूले भूमि विधेयकको प्रतिलिपी जलाउँदै नारावाजी गरेका थिए ।

जसपा नेपालले भूमि विधेयक पारित भए मधेश क्षेत्रमा औपनिवेशिकरण र मरुभूमि बन्ने खतरा बढ्ने चेतावनी दिएको छ । पार्टीले विधेयक भूमिहीनको हितका लागि नभई भूमाफियाको स्वार्थमा ल्याइएको आरोप लगाएको छ ।

विगतमा सरकारले भूमि अध्यादेश ल्याउँदा पनि जसपा नेपालको विरोधका कारण उक्त अध्यादेश फिर्ता लिन बाध्य भएको थियो । तर, राष्ट्रिय सभामा स्पष्ट बहुमत नहुँदा सरकार जसपा नेपालको अडान सामू झुक्न बाध्य भएको थियो । अब केपी शर्मा ओली नेतृत्वको सरकारले त्यही विषयलाई ध्यानमा राख्दै विधेयकमार्फत भूमि व्यवस्थापनको प्रक्रिया अघि बढाएको छ ।

जसपा नेपालले यस घटनापछि पनि विधेयकविरुद्धको आन्दोलन जारी राख्ने र मधेशमा जनआन्दोलनको रूपमा विरोधको आवाज बुलन्द गर्ने चेतावनी दिएको छ ।