जनकपुरधाम, ९ भदौ । मधेश प्रदेशमा प्रहरीले संरक्षण गरेको भन्दै तस्करी धन्दा सञ्चालनको आरोप सार्वजनिक भएपछि प्रदेश प्रहरी प्रशासनमा ठूलो संख्यामा कारबाही भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले १ सय १३ जना प्रहरीलाई जिम्मेवारीमुक्त गर्दै अन्यत्र सरुवा गरेको हो ।

प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार कारबाहीमा परेका कर्मचारीमध्ये घुमुवा प्रहरी, सादा पोसाकमा खटाइएका प्रहरी र तस्करीसँग जोडिएका गैरकानुनी गतिविधिमा संलग्न विभिन्न दर्जाका कर्मचारीहरू छन् ।

उनले भने, ‘हामीले अहिले जिम्मेवारीबाट कम्तीमा ११३ जनाभन्दा बढीलाई हटाएका छौं, अन्यको पहिचान गर्ने काम जारी छ । संगठनमाथि आँच पुर्याउने गतिविधि सह्य हुने छैन ।’

मधेश प्रदेश भारतसँगको खुला सीमासँग जोडिएकाले तस्करीको मुख्य मार्ग मानिन्छ । तर, तस्करी नियन्त्रणका लागि खटाइएका प्रहरी आफैं तस्करहरूसँग मिलेमतोमा रहेको आरोप पटक–पटक उठ्दै आएको छ । स्थानीय व्यापारी, नागरिक र सुरक्षा निकायका कर्मचारीहरू समेतले सीमामा तस्करीलाई ‘लाइन मिलाउने’ र असुली गर्ने काममा प्रहरी संलग्न भएको गुनासो गर्दै आएका छन् ।

डीआईजी चतुर्वेदीले भने, ‘संगठनमाथि आँच पुर्याउनेहरूप्रति हामी निर्मम हुनेछौं । गैरव्यावसायिक गतिविधिमा संलग्न प्रहरीको जिम्मेवारी मुक्त गर्ने काम निरन्तर जारी रहनेछ ।’

विगत वर्षौंदेखि मदिरा, सुर्तीजन्य पदार्थ, खाद्यान्नदेखि सुन, मोबाइलसम्मको तस्करी रोक्न सुरक्षा निकाय परिचालन भए पनि प्रभावकारी नियन्त्रण देखिएको छैन । प्रहरी–तस्कर मिलेमतोका कारण नियन्त्रणभन्दा बढी ‘व्यवसायीकरण’ भएको स्थानीय व्यापारीहरूको गुनासो छ ।

जनकपुरधामका एक व्यापारीले भने, ‘प्रहरीले भित्रकै मिलेमतो सफा नगरेसम्म तस्करी नियन्त्रण हुने छैन । अहिलेको कारबाही शुरुवात मात्रै हो । यो निरन्तर हुनुपर्छ ।’

कारबाहीपछि प्रहरी संगठनले विश्वास पुनर्स्थापना र सीमामा प्रभावकारी नियन्त्रणका लागि थप कदम चाल्ने तयारी सुरु गरेको छ ।