जनकपुरधाम, ९ भदौ । मधेश प्रदेश सरकार अन्तर्गत सुरक्षा संयन्त्र वीरगञ्ज महानगरपालिका क्षेत्रमा फैलिएको हैजा नियन्त्रणमा सक्रिय बनेको छ । सोमबार जनकपुरधाममा बसेको प्रदेश सुरक्षा समितिको बैठकले महामारी नियन्त्रणका लागि अधिकतम समन्वय र सहकार्य गर्ने निर्णय गरेको हो ।

बैठकको अध्यक्षता गरेका प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले हैजाको सङ्क्रमण अन्य जिल्लामा फैलिन नदिन सुरक्षा निकायले विशेष सतर्कता अपनाउने जानकारी दिए । साथै, खानेपानी र स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्दै ढल र खानेपानी पाइप मिसिएका स्थानको खोजी र आवश्यक मर्मतका लागि पनि सुरक्षा निकाय परिचालित गरिने निर्णय भएको उनले बताए ।

बैठकले हैजा नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मी र प्राविधिक कर्मचारीलाई सुरक्षा निकायको तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ । मन्त्री लेखीले भने, ‘खानेपानी र ढलको पाइप मिसिएका कारणले नै हैजा फैलिएको उल्लेख गरिएको छ । यो समस्या समाधानका लागि सुरक्षाकर्मीले सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक सहयोग गर्नेछन् ।’

बैठकमा हालै रौतहटको गौर घटनासम्बन्धी सर्वोच्च अदालतको परमादेशपछि विभिन्न जिल्लामा सुरु भएका विरोध प्रदर्शनको विषयमा पनि छलफल भएको थियो । मन्त्री लेखीका अनुसार आन्दोलनका कारण सुरक्षामा पर्न सक्ने सम्भावित प्रभावको गम्भीर समीक्षा गरिएको छ । जिल्लास्तरमा सुरु भएको प्रदर्शनलाई शान्तिपूर्ण ढंगले व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ ।

बैठकमा गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव विमल बराल, प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरीका डिआइजी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपाली सेनाका मधेश प्रदेश प्रमुखसहित उच्च सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो ।