जनकपुरधाम, ९ भदौ । सरकारले संसदमा दर्ता गरेको भूमि सम्बन्धी विधेयकप्रति चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले आपत्ति जनाएको छ ।

अभियानले उक्त विधेयक चुरे क्षेत्रको वनजंगल विनाश गर्ने र भू–माफियालाई फाइदा पुग्ने खालको रहेको दाबी गर्दै तत्काल सच्याउन माग गरेको छ ।

२०७४ सालदेखि सक्रिय रहेको अभियानले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा जसपा लगायत दलहरूले विधेयकविरुद्ध सुरु गरेको विरोधलाई स्वागत गर्दै पूर्ण ऐक्यवद्धता प्रकट गरेको जनाएको छ ।

अभियानका राष्ट्रिय अध्यक्ष तथा अभियन्ता सुनिल कुमार यादवले यो विधेयक पारित भए तराई–मधेश मरुभूमि बन्ने जोखिम बढ्ने चेतावनी दिए । उनले भने, ‘चुरे क्षेत्रको विनाश र तराई–मधेशको अस्तित्व संकटतर्फ धकेलिने खालको छ । त्यसैले सबै नागरिकले आफ्नो स्तरबाट आवाज उठाउन आवश्यक छ ।’

चुरे तथा वनजंगल संरक्षण अभियानले चुरे क्षेत्र र पर्यावरण जोगाउने हरेक सकारात्मक आन्दोलनमा नैतिक तथा भौतिक समर्थन जारी राख्ने प्रतिबद्धता पनि जनाएको छ ।

चुरे क्षेत्रमा निरन्तर वन विनाश र भूमिगत जलस्रोतको दोहन बढ्दै गएको छ । पर्यावरणविद्हरूले पनि भूमि सम्बन्धी विवादास्पद विधेयकले यी समस्यालाई अझ गहिरो बनाउने चिन्ता व्यक्त गर्दै आएका छन् । विधेयक यथावत पारित भए चुरे क्षेत्र र तराई–मधेशको जैविक विविधता र पानीको भण्डारण प्रणालीमा दीर्घकालीन असर पर्ने जोखिम देखिएको छ ।