जनकपुरधाम, ९ भदौ । मधेश प्रदेश सरकारले प्रदेशभित्र शान्ति सुरक्षा सुदृढीकरणका लागि नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई मोटरसाइकल तथा गाडी हस्तान्तरण गरेको छ ।

सोमबार मन्त्रालयमा आयोजित एक समारोहमा गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सम्बन्धित निकायलाई सवारीसाधनको साँचो तथा कागजात हस्तान्तरण गरे ।

मन्त्रालयका अनुसार नेपाल प्रहरी मधेश प्रदेश कार्यालयलाई २१ थान मोटरसाइकल र एक थान पिकअप भ्यान दिइएको छ भने राष्ट्रिय अनुसन्धान विभागका धनुषा, महोत्तरी, रौतहट र सप्तरी कार्यालय प्रमुखलाई दुई थान कार र दुई थान पिकअप भ्यान हस्तान्तरण गरिएको छ ।

समारोहलाई सम्बोधन गर्दै मन्त्री लेखीले प्रदेश सरकारसँग आफ्नै प्रहरी संगठन नभए पनि नागरिकलाई शान्ति–सुरक्षाको अनुभूति दिलाउन निरन्तर प्रतिबद्ध रहेको बताए । ‘हामीसँग स्रोत–साधन सीमित छन् । तर, नागरिकको सुरक्षा र हितमा सरकारले प्राथमिकता दिएको छ,’ उनले भने । उनका अनुसार चालु आर्थिक वर्षमा प्रहरी प्रशासनलाई थप सवारीसाधन उपलब्ध गराउन बजेट विनियोजन पनि गरिएको छ ।

लेखीले सुरक्षा निकाय नागरिकको सुरक्षाका लागि कठिन परिस्थितिमा निरन्तर खटिरहेको स्मरण गर्दै प्रहरीलाई सहजतापूर्वक काम गर्न सक्ने वातावरण बनाउन सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले सभ्य समाज निर्माणका लागि सुरक्षासँगै समाजका हरेक क्षेत्र र अङ्गको साझा जिम्मेवारी हुनेमा जोड दिए ।

गृह मन्त्रालयका सचिव विमलप्रसाद बरालले सवारीसाधन हस्तान्तरणले सेवा प्रवाहमा सहजता ल्याउने बताउँदै प्रदेश सरकारले नागरिकको सुरक्षाप्रति देखाएको संवेदनशीलता महत्त्वपूर्ण रहेको टिप्पणी गरे ।

नेपाल प्रहरी मधेश प्रदेश कार्यालय प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीले अहिले पनि प्रहरीसँग पर्याप्त स्रोत साधन नहुँदा दैनिक कामकाजमा चुनौती रहेको उल्लेख गर्दै प्रदेश सरकारले गरेको सहयोगले अपराध नियन्त्रणमा थप सहजता ल्याउने विश्वास व्यक्त गरे ।

समारोहमा मन्त्रालयका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका वरिष्ठ अधिकारी तथा सरोकारवालाको पनि उपस्थिति रहेको थियो ।