जनकपुरधाम, ८ भदौ । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा निजी जग्गामा वृक्षारोपण र कृषि वन स्थापना गर्ने इच्छुक व्यक्तिहरू, कृषक समूह, कृषि सहकारी संस्था वा घरधुरीका लागि अनुदान कार्यक्रम सञ्चालन गर्ने सूचना प्रकाशित गरेको छ ।

नगर कार्यपालिकाको सूचना अनुसार समृद्धिका लागि वन परियोजना अन्तर्गत ‘निजी जग्गामा लैङ्गिक सुविधा सहितको वृक्षारोपण÷कृषि वन स्थापना’ को लागि अनुदान प्रदान गरिनेछ । इच्छुक व्यक्तिले ३० दिनभित्र आवश्यक कागजातहरू संलग्न गरी नगर कार्यपालिकामा दरखास्त पेश गर्न सक्नेछन् ।

आवश्यक कागजातहरूमा निवेदन (जग्गाको क्षेत्रफल, वृक्षारोपण गर्ने प्रजाति र संख्या उल्लेख गर्दै) नेपाली नागरिकताको प्रतिलिपि, जग्गाधनी प्रमाणपत्र, समूह/कृषि सहकारीको दर्ता प्रमाणपत्र र समूह बैठकको निर्णयको प्रतिलिपि समावेश छ । विशेष गरी न्यूनतम १०० बिरुवा रोप्ने लक्ष्य तोकिएको छ ।

नगरका वन प्राविधिक सुभाष चन्द्र शर्माले अनुगमन प्रतिवेदनपछि मात्रै अनुदान रकम किस्ताबद्ध रूपमा प्रदान गरिने जानकारी दिए । प्रस्ताव पेश गर्दा लगानी योजना समेत संलग्न गर्नुपर्ने जनाएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले धार्मिक, सांस्कृतिक, पर्यटकीय समृद्ध नगर जनकपुरधामको दृष्टिकोणअनुसार वन संरक्षण र वृक्षारोपण कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए ।