जनकपुरधाममा जसपा नेपालको विशाल विरोध प्रदर्शन

जनकपुरधाम, ८ भदौ । रौतहटको चर्चित गौर हत्याकाण्डमा सर्वोच्च अदालतले अनुसन्धान अघि बढाउन दिएको आदेश तथा विवादित भूमि विधेयकविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले आइतबार जनकपुरधाममा विशाल विरोध प्रदर्शन गरेको छ ।
जसपाका नेता–कार्यकर्ताहरूले सडकमा उत्रिएर सर्वोच्च अदालतको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
विरोधसभामा सहभागी कार्यकर्ताहरूले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई मुद्दामा तान्ने प्रयास गरिएको भन्दै नाराबाजी गरेका थिए । उनीहरूले अदालतको आदेशलाई ‘राजनीतिक प्रतिशोधपूर्ण कदम’ को संज्ञा दिँदै निष्पक्ष अनुसन्धानको नाममा मधेश आन्दोलनका नेतृत्वकर्ताहरूलाई फसाउन खोजिएको आरोप लगाएका छन् ।
प्रदर्शनमा स्थानीय नेता–कार्यकर्ताहरू ठूलो संख्यामा उपस्थित रहेका थिए । केही समयका लागि जनकपुरधामको मुख्य बजार क्षेत्रको यातायात अवरुद्ध भएको थियो । गौर हत्याकाण्ड २०६८ साल चैत ७ गते भएको थियो । त्यसमा २७ जनाको ज्यान गएको थियो ।
अदालतको आदेशले यस विषयलाई पुनः राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा ल्याएको छ । जसपाका नेताहरूले गौर घटनालाई राजनीतिक घटनाक्रमको रूपमा बुझ्नुपर्ने र त्यसलाई आपराधिक ढंगले चित्रण गर्न खोजिनु मधेश आन्दोलनको अपमान भएको बताएका छन् । उनीहरूले आन्दोलनका शहीदहरूको योगदानलाई सम्मान गर्नु पर्ने बेला उल्टै आन्दोलनकारीहरूलाई फसाउन खोजिएको दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।
जसपाले सर्वोच्चको आदेशप्रति असन्तुष्टि जनाउँदै आन्दोलन अझ तीव्र पार्ने चेतावनी पनि दिएको छ ।





तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


