जनकपुरधाम, ८ भदौ । प्रेस जनमत संघले नेपाल पत्रकार महासंघलाई सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रियामा देखिएको विभेद तत्काल रोक्न आग्रह गरेको छ ।

संघका अध्यक्ष अवधेश कुमार झाले आइतबार महासंघ अध्यक्ष निर्मला शर्मालाई ज्ञापनपत्र बुझाउँदै आस्थाका आधारमा सदस्यता दिने वा रोक्ने प्रवृत्ति महासंघको साझा चरित्रविपरीत भएको बताए ।

ज्ञापनपत्रमा नेतृत्वसँग आस्था राख्नेहरूको सदस्यता सहजै नवीकरण हुने तर फरक आस्था राख्ने पत्रकारको सदस्यता खारेज वा अस्वीकृत हुने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाइएको छ ।

संघले भनेको छ, ‘सदस्यताको शुद्धिकरण आवश्यक भए पनि त्यसलाई आधार बनाएर व्यक्तिगत रिसइवी गर्ने वा काठमाडौं र तराई–मधेशमा फरक–फरक मापदण्ड लागू गर्नु अन्यायपूर्ण हो ।’

गत निर्वाचनताका शुद्धिकरणका नाममा भएको अन्याय सच्याउन र महासंघलाई साँच्चिकै सबै पत्रकारहरूको साझा संगठनका रूपमा कायम राख्न संघले आग्रह गरिएको छ । महासंघमार्फत प्राप्त हुने अवसरमा सबै पत्रकारले समान अधिकार र अपनत्वको अनुभव गर्न सक्ने वातावरण बनाउनुपर्नेमा पनि जोड दिइएको छ ।

ज्ञापनपत्र बुझाउने क्रममा महासंघ अध्यक्ष निर्मला शर्मा, उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाललगायत पदाधिकारी तथा प्रेस जनमत संघका अध्यक्ष झालेसँगै सहअध्यक्ष आरएन विश्वास, केन्द्रीय सदस्य जितेन्द्र खड्गा लगायतका पत्रकारको उपस्थिति थियो ।