जनकपुरधाम, ८ भदौ । सिरहाबाट काठमाडौं जाँदै गरेको यात्रु सवार हायस गाडीबाट महोत्तरी प्रहरीले खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सिरहा नगरपालिका–७ का ३७ वर्षीय बालकृष्ण कुमार मुखियालाई बर्दिबास नजिक चेकजाँचको क्रममा ४६ ग्राम ६१० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको हो ।

मुखियालाई प्रदेश ०१–००६ ख ७३०३ नम्बरको हायस गाडीमा सवार अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका मुखियाविरुद्ध लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ भने बरामद गरिएको पदार्थ परीक्षणका लागि पठाइएको छ ।

महोत्तरी प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन नियमित चेकजाँच जारी रहने बताएको छ ।