जलस्रोत व्यवस्थापन परियोजनाको प्रारम्भिक कार्यशाला सम्पन्न

जनकपुरधाम, ८ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१७ मा आइतबार ‘सामुदायिक नेतृत्वमा सञ्चालित उत्थानशील सहनशीलता तथा जलस्रोत व्यवस्थापन परियोजना’ अन्तर्गतको प्रारम्भिक कार्यशाला (स्टार्ट–अप वर्कशप) सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख आतिथ्य नीति तथा योजना आयोग मधेश प्रदेशका उपाध्यक्ष डा. सोहन साहले गरेका थिए भने कार्यक्रमको अध्यक्षता राष्ट्रिय प्रकोप व्यवस्थापन संजाल नेपालका अध्यक्ष सुर्य बहादुर थापाले गरे ।
प्रमुख अतिथि डा. साहले जलवायु परिवर्तनले सिर्जित चुनौतीको सामना गर्न सामुदायिक नेतृत्वमा आधारित दिगो जल व्यवस्थापन अपरिहार्य रहेको उल्लेख गर्दै भने, ‘यस्ता पहलहरूले प्रदेशमा मात्र नभई राष्ट्रिय स्तरमै नयाँ उदाहरण स्थापित गर्नेछन् । चुरे क्षेत्रको संरक्षणमा सबैले ध्यान दिनुपर्छ । नेपाल ब्राजिलपछि संसारकै दोस्रो जलस्रोत धनी देश भन्ने भ्रमबाट मुक्त भई वास्तविक तथ्य बुझ्न आवश्यक छ ।’
अध्यक्ष सुर्य बहादुर थापाले समुदाय सशक्तीकरणको महत्वमाथि जोड दिँदै भने, ‘समुदायलाई सशक्त बनाउन सके मात्र दिगो समाधान सम्भव हुन्छ । यस्ता परियोजनाले प्रत्यक्ष रूपमा जनताको जीवनस्तरमा सुधार ल्याउनेछन् ।’
प्रविधिक सल्लाहकार रोहित कुमार यादवले जलस्रोत व्यवस्थापनमा प्रविधि र स्थानीय सहभागितालाई जोड दिनुपर्ने बताए । उनले भने, ‘सिमेन्टको अनावश्यक प्रयोग वा पोखरीका घाट निर्माण जस्ता गतिविधिले प्राकृतिक सन्तुलन बिगार्छ । इनार जस्ता परम्परागत स्रोतहरू हराउँदै जानु जलचक्रमा नकारात्मक असर पारिरहेको छ ।’

वडा नं १७ का अध्यक्ष रामबृक्ष यादवले पनि परियोजनामा जनप्रतिनिधि र समुदायबीच सहकार्य हुनु आवश्यक भएको बताए । उनका अनुसार, ‘सहकार्य भएमा यो परियोजना वडाको जल समस्या समाधानको महत्वपूर्ण मोडेल बन्न सक्छ ।’
युएनडिपीका धन बहादुर चन्दले अन्तर्राष्ट्रिय साझेदारी र सहयोगको महत्वमाथि जोड दिँदै भने, ‘स्थानीय स्तरका ठूला चुनौती समाधान गर्न अन्तर्राष्ट्रिय सहयोग महत्त्वपूर्ण भूमिका खेल्छ । यो परियोजना त्यसकै उत्कृष्ट उदाहरण हो ।’
कार्यक्रममा एनजीओ फेडेरेसनका केन्द्रिय सचिव रामचन्द्र साह, केन्द्रिय सदस्य धीरेन्द्र सिंह, प्रधानाध्यापक सुनिल मल्लिक, बुद्धिजीवी समाजका रामसागर दास, वडासदस्य उपेन्द्र ठाकुरसहित स्थानीय नागरिक समाज, किसान, महिला, बुद्धिजीवी तथा राजनीतिकर्मीहरूको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


