संघर्ष समिति र नगरपालिकाबीच दुई बुँदे सहमति

सप्तरी, ७ भदौ । लालपुर्जाको मागसहित आन्दोलनको तयारीमा रहेका राजविराज नगरवासी पीडित संघर्ष समिति र राजविराज नगरपालिका कार्यालयबीच दुई बुँदे लिखित सहमति भएपछि आन्दोलन तत्कालका लागि स्थगित गरिएको छ । शनिबारदेखि सुरु हुने भनिएको आन्दोलन सहमतिपछि स्थगित भएको हो ।
सहमतिको लिखित पत्रमा राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन, योजना अधिकृत मनोज यादव, कानुनी सल्लाहकार शिवकुमार चौधरी, संघर्ष समितिका संयोजक इरसाद अन्सारी, प्रवक्ता अनिल देव, श्याम शर्मा लगायतका पदाधिकारीहरू तथा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवको उपस्थिति थियो ।
सहमति अनुसार विगतमा राजविराज नगरक्षेत्रको बिटौरी र ब्लक क्षेत्रमा रहेको जग्गा मालपोत कार्यालयमार्फत लेखत पारित हुने, अदालतमार्फत हकहस्तान्तरण हुने तथा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सकिने व्यवस्था हाल रोकिएको अवस्थामा लालपुर्जा वितरणका लागि नगरकार्यपालिकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा औपचारिक सिफारिस पठाउने निर्णय गरिएको छ ।
साथै, नगरपालिकाको नेतृत्वमा संघर्ष समिति, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला निकायलाई समेटेर संयुक्त टोली गठन गरी लालपुर्जा वितरण प्रक्रिया अघि बढाइने उल्लेख छ ।
राजविराज नगरपालिका २०१६ सालमा स्थापना भए पनि नगरको मुख्य बजार क्षेत्रमा बसोबास गर्दै आएका करिब पाँच हजार दुई सय परिवार अझै लालपुर्जा पाउन सकेका छैनन् ।
लालपुर्जा नपाउँदा बसोबासदेखि व्यापार–व्यवसाय र बैंकमा धितो राखेर कर्जा लिन समेत समस्या हुने भएकाले स्थानीय वर्षौंदेखि आन्दोलनरत रहँदै आएका थिए ।
कार्यवाहक नगर प्रमुख इसरत परवीनले सहमतिको पूर्ण कार्यान्वयन हुने प्रतिबद्धता व्यक्त गर्दै भनिन्, ‘नगरसभा हुनु अगावै करिब पाँच हजार परिवारले लालपुर्जा प्राप्त गर्न सकून् भन्ने हाम्रो चाहना हो । यसका लागि नगरपालिकाले इमान्दार र सक्रिय पहल गर्नेछ ।’
यद्यपि, संघर्ष समितिले सहमतिलाई सकारात्मक रूपमा लिएको भए पनि चाँडो कार्यान्वयन गर्न दबाब दिने चेतावनी दिएको छ । समितिका संयोजक इरसाद अन्सारीले भने, ‘हामीले सहमतिलाई स्वागत गरेका छौं । तर, यदि फेरि विगतजस्तै ढिलासुस्ती वा धोका भयो भने स्थगित आन्दोलनलाई पुनः चर्काउनेछौं ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


