महासेठद्वारा मिथिला–११ मा स्थानीयसँग प्रत्यक्ष संवाद

जनकपुरधाम, ७ भदौ । पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता रघुवीर महासेठले शनिबार धनुषाको मिथिला नगरपालिका–११ मा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गरेका छन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य हरिनारायण महतो, पार्टीका जिल्ला कमिटी पदाधिकारी, वडा नम्बर–११ का निर्वाचित जनप्रतिनिधि तथा पार्टीका अगुवा कार्यकर्ताहरूको समेत उपस्थिती रहेको थियो ।
अन्तरक्रिया कार्यक्रमको क्रममा सहभागीहरूले विगतमा सम्पन्न भएका विकास योजनाको समीक्षा गर्दै अझै अधुरा रहेका योजनाबारे गुनासो, सुझाव र आवश्यकता प्रस्तुत गरे ।
कार्यक्रममा बोल्दै महासेठले भने, ‘विकास जनताकै चाहना र आवश्यकताअनुसार हुनुपर्छ। जनताको सुझावलाई प्राथमिकता दिँदै बाँकी काम छिट्टै सम्पन्न गर्ने गरी पहल गरिन्छ ।’
उनले सबै जनप्रतिनिधि र पार्टी कार्यकर्ताहरूलाई समन्वय र सहकार्यमार्फत जनताले दिएको विश्वासलाई व्यवहारमा परिणत गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।
यसैगरी प्रदेश सभा सदस्य महतोले पनि स्थानीय स्तरमै विकास कार्यान्वयनले मात्रै प्रदेश र संघीय सरकारका योजनाहरू सफल हुने उल्लेख गर्दै सबैलाई एउटै मञ्चमा ल्याएर समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
स्थानीयले सडक, खानेपानी, कृषि तथा शिक्षासम्बन्धी अधुरा परियोजनाहरू शीघ्र सम्पन्न गर्न माग गरेका छन् ।
कार्यक्रममार्फत प्राप्त सुझाव र गुनासोहरूलाई आगामी योजना निर्माण र कार्यान्वयनमा समावेश गर्ने रघुवीर महासेठले आश्वासन दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


