जनकपुरधाम, ७ भदौ । जनकपुर जेसीजको आयोजनामा ५२औं राष्ट्रिय महाधिवेशन केवल औपचारिक कार्यक्रम मात्र नभई जनकपुरधामका लागि ऐतिहासिक अवसर सावित हुन लागेको छ ।

यस महाधिवेशनले स्थानीय धार्मिक, सांस्कृतिक र आर्थिक महत्वलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने विश्वास लिइएको छ ।

कार्यक्रमका आयोजकका अनुसार माता जानकी र राजा जनकको पवित्र भूमिमा हुने यस महाधिवेशनले धार्मिक र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउनेछ ।

देशभरिबाट हजारौं युवा सहभागिहरू आउने भएकाले होटल, यातायात, व्यवसाय, पर्यटन र स्थानीय उत्पादनमा प्रत्यक्ष लाभ पुग्नेछ । यसले स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।

जनकपुर जेसीजले सुवर्ण वर्षको अवसरमा आयोजना गर्न लागेको महाधिवेशन युवा नेतृत्व, सीप विकास, राष्ट्र निर्माण र एकताको सन्देशमा केन्द्रित हुनेछ । महाधिवेशनले देशभरिका युवाहरूलाई एकै स्थानमा ल्याएर नेटवर्किङ, ज्ञान र अनुभव आदान–प्रदान गर्ने अवसर प्रदान गर्नेछ ।

कानुनी सल्लाहकार प्रशान्त झाले जारी गरेको विज्ञप्तिमा महाधिवेशनका क्रममा धर्म, संस्कृति र माता जानकीको दिव्य धरोहरप्रति कुनै प्रकारको अवहेलना, अनादर वा चोट पुर्याउने उद्देश्य नरहेको उल्लेख छ । बरु कार्यक्रमको उद्देश्य नेपाली संस्कृति र सभ्यताको गौरवलाई अझ प्रकट गर्दै समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्नु रहेको छ ।

आयोजकका अनुसार जनकपुरमा हुने यो महाधिवेशन केवल धार्मिक स्थलको रूपमा नभई नेतृत्व, शिक्षा र सामाजिक चेतनाको केन्द्रको रूपमा शहरको महत्वलाई समेत विश्वव्यापी रूपमा प्रस्तुत गर्नेछ । कार्यक्रमको सफलताले जनकपुरधामलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सुवर्ण अवसर सावित हुने विश्वास छ ।