जनकपुरधाम, ७ भदौ । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित वडा कार्यालय पछाडि रहेको एस राज कबाड पसलमा एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेको छ ।

मृतकको पहिचान अहिलेसम्म खुल्न नसकेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक सूचना जारी गर्दै सनाखतमा सहयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार शुक्रबार साँझ करिब सवा ६ बजे सो स्थानमा करिब ४० वर्षीय पुरुष अचेत अवस्थामा फेला परेका थिए ।

‘स्थानीयले खबर गरेलगत्तै प्रहरी टोली पुगेको थियो । उनलाई तत्काल प्रादेशिक अस्पताल जनकपुर पठाइए पनि चिकित्सकले मृत घोषणा गरे,’ डीएसपी सिंहले भने ।

उनका अनुसार मृतकको शव आवश्यक प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल जनकपुरको शवगृहमा राखिएको छ । ‘हालसम्म सनाखत हुन सकेको छैन । मृतकको तस्बिर र विवरण प्रचार–प्रसार गरिएको छ । मृतकलाई चिनेका कोही आफन्त छन् भने नजिकैको प्रहरी कार्यालय वा प्रादेशिक अस्पतालमा सम्पर्क गर्न अनुरोध गर्दछौं,’ उनले भने ।