मधेश प्रदेश सभाको छैठौं अधिवेशन आह्वान

जनकपुरधाम, ५ भदौ । मधेश प्रदेश सभाको छैठौं अधिवेशन आउँदो भदौ १२ गते बिहीबारदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेकी हुन् ।
प्रदेश प्रमुखको कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिअनुसार भदौ ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन बोलाउन सिफारिस गरेपछि उक्त निर्णय गरिएको हो । यसअनुसार अधिवेशन भदौ १२ गते दिउँसो १ बजेदेखि औपचारिक रूपमा सुरु हुनेछ ।
यस अधिवेशनमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनको स्थिति, नीतिगत तथा कार्यक्रमगत निर्णय, विभिन्न विधेयकहरू र प्रदेश सरकारका गतिविधिसम्बन्धी विषयमा विस्तृत छलफल हुने बताइएको छ ।

प्रदेश प्रमुखको कार्यालयले प्रदेश सभासचिवालयलाई अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गर्न आग्रह गरेको छ । अधिवेशन सुरु हुनुअघि कार्यसूची टुंग्याउने प्रक्रिया अघि बढाइनेछ ।
यसअघि पाँचौं अधिवेशनमा प्रदेश सरकारलाई विपक्षी दलहरूले बजेट कार्यान्वयनमा देखिएका कमजोरी, स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा देखिएका समस्याबारे लगातार प्रश्न उठाएका थिए । यस अधिवेशनमा पनि ती विषयले निरन्तरता पाउने निश्चित देखिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


