सप्तरी, ५ भदौ । धानखेतीका लागि प्रमुख जिल्लामध्ये एक सप्तरीमा यस वर्ष हालसम्म कुल खेतीयोग्य जमिनको करिब ७५ प्रतिशतमा मात्र धान रोपाइँ सम्पन्न भएको छ । समयमा पर्याप्त वर्षा नपरेका कारण किसानहरूले अपेक्षित मात्रामा रोपाइँ गर्न सकेका छैनन् ।

कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउतका अनुसार जिल्लाका १८ वटा स्थानीय तहमध्ये केही क्षेत्रमा रोपाइँ लगभग सम्पन्न भए पनि धेरै क्षेत्रमा प्रगति सुस्त छ । ‘जिल्लाभरिको औसत तथ्याङ्क हेर्दा ७५ प्रतिशत मात्रै रोपाइँ भएको छ । पानी अभावकै कारण अझै केही जमिन बाँकी छ,’ उनले भने ।

जिल्लाका राजविराज नगरपालिका, राजगढ गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा सबैभन्दा बढी प्रगति देखिएको छ । त्यहाँ करिब ९० प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ ।

हनुमाननगर कंकालिनी, सप्तकोशी, सुरुङ्गा, डाक्नेश्वरी, कञ्चनरुप नगरपालिका र तिरहुत गाउँपालिकामा औसत ८० प्रतिशत खेतमा धान रोपाइँ भएको छ । तर, बोदेबरसाइन नगरपालिकामा ५० प्रतिशत, खडक नगरपालिकामा ५५ प्रतिशत, महदेवामा ५८, रुपनीमा ६०, अग्निसाइर कृष्णासवरनमा ७४ र विष्णुपुरमा ७७ प्रतिशत रोपाइँ भएको तथ्याङ्क केन्द्रले सार्वजनिक गरेको छ ।

सप्तरीमा कुल ८१ हजार ६६८ हेक्टर खेतीयोग्य जमिन रहेको छ । त्यसमध्ये करिब ६८ हजार हेक्टरमा नियमित रूपमा धान खेती हुने गर्दछ । तर, पर्याप्त सिंचाइ सुविधा नभएकाले यहाँका किसान अझै पनि आकाशे पानीमै भर पर्न बाध्य छन् । असार महिनामा अपेक्षित वर्षा नपरेपछि धेरै किसानले खेत सुकाइराखेका थिए ।

यद्यपि साउनको अन्तिम र भदौको शुरुवाती हप्तामा वर्षा भएपछि किसानले फाटफुट रूपमा रोपाइँलाई निरन्तरता दिएका छन् । कृषि ज्ञान केन्द्रको अनुमान अनुसार यदि वर्षा यथावत् रह्यो भने बाँकी खेतमा पनि रोपाइँ हुन सक्ने र जिल्लाभरिको रोपाइँ प्रतिशत अझै बढ्नेछ ।

स्थानीय कृषकहरू भने वर्षेनी दोहोरिने ‘पानी अभावको समस्या’ समाधान गर्न राज्यले दीर्घकालीन सिंचाइ व्यवस्था गर्नु पर्ने माग गर्दै आएका छन् ।