कृषि सामग्री कम्पनीको नयाँ नीतिपछि मल आपूर्तिमा सहजता

सिरहा, ५ भदौ । लामो समयदेखि मल अभावका कारण मारमा परिरहेका सिरहाका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेड लहानले पारदर्शी ढंगले वितरण सुरु गरेपछि सहजै डिएपी मल पाउन थालेका छन् ।
तेस्रो चरणको वितरणमा कम्पनीले सहकारीमार्फत पुग्ने मलको कोटा र तालिका सार्वजनिक गरेपछि किसानमा विश्वास बढेको छ । यसअघि पहुँचवाला र राजनीतिक दबदबा भएका व्यक्तिहरूले बढी मल पाउने र सर्वसाधारण किसान वञ्चित हुने गुनासो आइरहेको थियो ।
कम्पनीका शाखा प्रमुख दिपराज पौडेलका अनुसार सिरहाका १७ वटै पालिकामा रहेका ११५ कृषि सहकारीलाई यस पटक २३ हजार ४६५ बोरा डिएपी मल वितरण गरिएको हो । यो परिमाण दोस्रो चरणमा आएको मल बितरित भएको १० दिन नपुग्दै किसानसम्म पुर्याइएको हो ।
सिरहामा यस वर्ष ८८.१७ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ । हाल गोडमेल सुरु हुने भएकाले किसानलाई युरिया मलको माग बढेको र त्यसको आपूर्तिका लागि तयारी भइरहेको पौडेलले जानकारी दिए ।
लहान नगरपालिकामा ७ हजार १५६ हेक्टर धान खेतका लागि २ हजार ५०० बोरा, सिरहा नगरपालिकामा ७ हजार ५६१ हेक्टरमा २ हजार ६४० बोरा, धनगढीमाइ नगरपालिकामा ५ हजार ३४२ हेक्टरमा १ हजार ९४० बोरा, गोलबजारमा ५ हजार १६३ हेक्टरमा १ हजार ८८५ बोरा र कल्याणपुरमा ५ हजार ९१४ हेक्टरमा १ हजार ८२० बोरा मल वितरण गरिएको छ ।
त्यस्तै, सुखीपुरमा १ हजार ६५० बोरा, मिर्चैयामा १ हजार ६२०, कर्जन्हामा ९८५, लक्ष्मीपुर पतारीमा १ हजार १२०, अर्नमा गाउँपालिकामा ९९०, सखुवानन्कारकटिमा ८८५, भगवानपुरमा ८५०, नवराजपुरमा ९२०, बरियारपटिमा १ हजार २०, नरहामा ७५० र विष्णुपुरमा ६९० बोरा मल किसानले पाएका छन् ।
गत वर्ष र यसै वर्षको शुरुवातमा धेरै किसान मल पाउन वञ्चित भएका थिए । त्यसपछि मल वितरणलाई पारदर्शी बनाउन लहान, सिरहा नगरपालिका र भगवानपुर गाउँपालिकामा सहकारीमार्फत वितरणको अनुगमन गरिएको थियो ।
‘अनुगमनपछि अब किसानलाई सहजै मल पाउने वातावरण बनेको छ,’ शाखा प्रमुख पौडेलले भने, ‘अबदेखि पालिका प्रमुख र अनुगमन निकायसँग समन्वय गरेर मात्र मल वितरण गर्ने प्रणाली लागू गरेका छौं ।’
सिरहा नगरपालिकाका प्रमुख नविनकुमार यादवले पनि तेस्रो चरणको वितरणलाई व्यवस्थित बनाउन तालिका सार्वजनिक गरिएको बताए । ‘यदि कुनै किसानलाई डिएपी मल नपरे तत्काल नगरपालिकासँग सम्पर्क गर्न सक्ने व्यवस्था मिलाएका छौं,’ उनले भने ।
कृषकलाई समयमै डिएपी नपाउँदा उनीहरू महँगो मूल्यमा भारतबाट मल ल्याएर प्रयोग गर्ने बाध्यता बढेको थियो । तर यस पटक प्रशासनले पनि आपूर्तिलाई प्राथमिकतामा राखेपछि किसानलाई सहज भएको इलाका प्रशासन कार्यालय लहानका शाखा अधिकृत सन्तोष रायले जानकारी दिए ।
‘अनुगमनलाई कडाइ गरेपछि यस पटक मल वितरण अपेक्षाकृत सहज र न्यायोचित बनेको छ,’ उनले भने ।
कृषि क्षेत्रलाई आधार मानेर जीविकोपार्जन गर्ने सिरहाका किसानले यसपटक पारदर्शी वितरण प्रक्रियाले राहत दिएको भन्दै सरकार र कम्पनीलाई धन्यवाद दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


