जनकपुरधाम, ५ भदौ । जनकपुरधाम उपमहानगरपालिकाले आधुनिक सुविधा सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन प्राप्त गरेको छ ।

करिब २ करोड २५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भवन बिहीबार विशेष कार्यक्रमका बीच नगरप्रमुख मनोजकुमार साहलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । भवन उपमहानगरपालिका–१७ तेतरियामा निर्माण गरिएको छ ।

भवनमा अपाङ्गमैत्री संरचना, माटो परीक्षण प्रयोगशाला, भेटेरीनरी ल्याब, तालिम हल लगायत कृषकका लागि प्रत्यक्ष लाभदायक अत्याधुनिक पूर्वाधारहरू समेटिएका छन् । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर बर्दिवासको सहयोगमा निर्माण सम्पन्न यो भवनले कृषि तथा पशुपालन क्षेत्रमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ ।

भवन हस्तान्तरण कार्यक्रममा नगरप्रमुख साहले भने, ‘यो भवन बहुउपयोगी रूपमा सञ्चालन गरिनेछ । यसको प्रयोगले नगरका किसानलाई प्रत्यक्ष लाभ पुग्नेछ । ग्रामीण क्षेत्रको आर्थिक समृद्धि र कृषकको जीवनस्तर उकास्न यस भवनबाट सेवा प्रवाह अझ प्रभावकारी हुनेछ । विशेष गरी सुविधा सम्पन्न प्रयोगशालाले किसानले माटो परीक्षण वा पशुपन्छी उपचारका लागि बाहिर धाउन नपर्ने अवस्था सिर्जना गर्नेछ ।’

कार्यक्रममा वडा नम्बर–१७ का वडाध्यक्ष रामवृक्ष यादवले भवनले कृषि तथा पशुपालन दुवै क्षेत्रमा ठोस योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले भने, ‘यो क्षेत्रमा अधिकांश जनता कृषि व्यवसायमै आश्रित छन् । अब आधुनिक प्रविधि प्रयोग गरेर उत्पादन बढाउन यो भवन महत्वपूर्ण केन्द्र बन्नेछ ।’

त्यस्तै, वडा नम्बर–९ का वडाध्यक्ष परमेश्वर साहले जनकपुरधाममा कृषि क्षेत्रमा प्रचुर सम्भावना रहेको बताउँदै भवनले किसानको आयवृद्धि र जीवनस्तर उकास्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर बर्दिवासका प्रमुख रविन्द्र महतोले भवनमा आवश्यक सम्पूर्ण सुविधा समेटिएको जानकारी दिए । गत वर्ष असार महिनामा नगरप्रमुख साहकै हातबाट शिलान्यास भएको भवन करिब एक वर्षको अवधिमा निर्माण सम्पन्न भएको हो । निर्माणको जिम्मेवारी विजय सिर्जना भगत ग्रुप जेभीले पूरा गरेको थियो ।

कार्यक्रममा सहभागी स्थानीय कृषकहरूले भवन सञ्चालनले कृषि क्षेत्रमा ठोस परिवर्तन ल्याउने अपेक्षा व्यक्त गर्दै उपमहानगरपालिकालाई धन्यवाद ज्ञापन गरेका थिए ।