सर्लाहीमा ठूलो परिमाणको गाँजा बरामद, दम्पती पक्राउ

सर्लाही, ५ भदौ । हरिपुर्वा नगरपालिका–५ मा प्रहरीले ठूलो परिमाणको लागुऔषधजन्य गाँजा बरामद गर्दै एक दम्पतीलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा गरिएको संयुक्त अपरेसनमा करिब २० किलो ३४० ग्राम गाँजा फेला परेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा हरिपुर्वा–५ निवासी ४५ वर्षीय रुपेश साह र उनकी ३५ वर्षीया पत्नी प्रतिमा कुमारी साह रहेका छन् । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ ।
सामूहिक टोलीमा प्रहरी चौकी हरिपुर्वाबाट प्रहरी वरिष्ठ निरीक्षक शेख हफ्जुल्लाहको नेतृत्वमा ४ जना प्रहरी, जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमाण्डमा ११ जना प्रहरी र इलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा ११ जना प्रहरी सहभागी भएका थिए ।
संयुक्त टोलीले रुपेश साहको पक्की घर खानतलासी गर्दा घरको छतमा लुकाइएको अवस्थामा गाँजा फेला पारेको हो । प्रहरीले बरामद गाँजाको तौल २० किलो ३४० ग्राम रहेको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ परेका दम्पतीलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही गरिनेछ । साथै, बरामद गाँजाको स्रोत, वितरण नेटवर्क र संलग्न अन्य व्यक्तिहरूबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


