जनकपुरधाम, ५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर मित्र बरालले मधेश प्रदेशको विद्युत् तथा सिँचाइ सेवाका अवस्था बुझ्न नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरधाममा आयोजित कार्यक्रममा विशेष जानकारी लिएका छन् ।

कार्यक्रमका क्रममा मन्त्री खड्काले विद्युत् चुहावट मधेश प्रदेशमा अन्य प्रदेशको तुलनामा उच्च रहेको उल्लेख गर्दै तत्काल समाधान गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

उनका अनुसार चुहावटले न केवल आर्थिक घाटा बढाएको छ । तर, आम नागरिक र उद्योग व्यवसायलाई पनि असर पुर्याइरहेको छ । ‘प्रदेशका विद्युत् सेवा चुस्त, प्रभावकारी र सबैको पहुँचमा पुग्ने गरी सुधार गर्न अब तत्काल कदम चाल्न आवश्यक छ,’ मन्त्री खड्काले भने ।

त्यसैगरी, महानिर्देशक बरालले सिँचाइ क्षेत्रका चुनौतीहरूबारे जानकारी दिएका छन् । तराईमा पछिल्लो समय देखिएको सुक्खा समस्यालाई सम्बोधन गर्न विभागले उच्च प्राथमिकताका साथ काम गरिरहेको र जलस्रोत व्यवस्थापनमा सुधार ल्याउन योजनाबद्ध कार्यक्रम अघि बढाइरहेको बताए ।

उनले भने, ‘सिँचाइ सेवा सुदृढ बनाइ कृषकलाई आवश्यक पानी समयमै उपलब्ध गराउनु हाम्रो प्राथमिक जिम्मेवारी हो । यो लक्ष्यमा विभागले उच्च ध्यान केन्द्रित गरेको छ ।’

कार्यक्रममा कर्मचारीहरूलाई तत्काल सुधारका उपायहरू लागु गर्ने, चुहावट घटाउने र सिँचाइ सेवा विस्तार गर्ने निर्देशन दिइएको छ । मन्त्री खड्का र महानिर्देशक बरालले यस अवसरमा प्रदेशका विद्युत् तथा सिँचाइ सेवाको गुणस्तर सुधार्न सबै तहका कर्मचारीको सक्रिय सहभागिता आवश्यक रहेको पनि औँल्याएका छन् ।

यसैबीच, विद्युत् चुहावट नियन्त्रण, जलाशय सुधार, सिँचाइ प्रणाली आधुनिकिकरण र सिंचाइ योजना प्रभावकारी बनाउने बिषयमा सुझाव र प्रतिवेदन तयार गर्न सम्बन्धित शाखा तथा प्रभागलाई जिम्मेवारी दिइएको छ ।