जसपाको आन्दोलन चौथो दिनमा, काठमाडौँदेखि मधेशसम्म आक्रोश

जनकपुरधाम, ५ भदौ । सर्वोच्च अदालतले गौरकाण्ड प्रकरणमा छानबिन गर्न दिएको परमादेशविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले आन्दोलनलाई चौथो दिनसम्म निरन्तरता दिएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवलाई योजनाबद्ध रूपमा फसाउन खोजिएको आरोप लगाउँदै जसपा नेता–कार्यकर्ताहरू देशभर सडकमा उत्रिएका हुन् ।
सर्वोच्च अदालतले हालै गौरकाण्ड सम्बन्धी मुद्दामा छानबिन अघि बढाउन आदेश दिएलगत्तै जसपा नेपाल आक्रोशित बनेको हो । जसपाका नेताहरूले भूमि विधेयकमा अध्यक्ष यादवले असहयोग गरेको कारण राजनीतिक प्रतिशोधका आधारमा सरकारले उनलाई लक्षित गर्दै यस्तो कदम चालेको दाबी गरेका छन् ।
समाजवादी महिला संघको नेतृत्वमा राजधानी काठमाडौंमा भएको विरोध प्रदर्शनमा जसपा नेपालका नेता तथा कार्यकर्ताहरूले ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘उपेन्द्र यादवलाई फसाउन खोजिएको षड्यन्त्र बन्द गर’ जस्ता नारासहित सरकारविरुद्ध कडा आक्रोश पोखेका थिए । सडक तताएका प्रदर्शनकारीहरूले निर्णयलाई अस्वीकार गर्दै आन्दोलनलाई अझ सशक्त बनाउने घोषणा गरेका छन् ।
यसैबीच, मधेशका विभिन्न जिल्लाहरू धनुषा, पर्सा, सिरहा, सप्तरीलगायत क्षेत्रमा समेत आन्दोलन व्यापक बनेको छ । नेता तथा कार्यकर्ताहरूले सडकमा नाराबाजी गर्दै, सडक जाम गर्दै र विरोधसभा आयोजना गर्दै सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन् ।
जसपाका नेताहरूले गौरकाण्डलाई पुनः उठाएर सरकार पार्टीको नेतृत्व कमजोर बनाउन खोजिरहेको आरोप लगाएका छन् । उनीहरूले आन्दोलनलाई अझ चर्काउने चेतावनीसमेत दिएका छन् । जसपाका शीर्ष नेतृत्वको भनाइअनुसार उपेन्द्र यादवमाथि लगाइएको आरोप राजनीतिक उद्देश्यले प्रेरित छ । त्यसलाई कुनै हालतमा स्वीकार गर्न सकिँदैन ।
आन्दोलन चर्किएसँगै काठमाडौँदेखि मधेशसम्मका विभिन्न क्षेत्रमा सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएको छ । सम्भावित भिडन्त रोक्न प्रहरीले राजधानीका संवेदनशील क्षेत्रमा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरेको छ भने मधेशका जिल्लाहरूमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


