यमुनामाई गाउँपालिकामा जनप्रतिनिधिहरूको धर्ना

रौतहट, ४ भदौ । रौतहटको यमुनामाई गाउँपालिकामा जनप्रतिनिधिहरू बुधबार बिहानैदेखि धर्ना बसेका छन् ।
वडाध्यक्ष सीताराम यादवको नेतृत्वमा वडा नं. १ देखि ५ सम्मका २१ निर्वाचित सदस्यहरूले १३ बुँदे माग राख्दै गाउँपालिका कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
संघर्ष समितिका संयोजक समेत रहेका वडाध्यक्ष यादवका अनुसार गाउँपालिका अध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालले मिलोमतो गरी कानुन विपरीत कामहरू गरिरहेको पाएपछि आफूहरू धर्नामा बस्न बाध्य भएको बताए ।
जनप्रतिनिधिहरूले प्रस्तुत गरेका मागमा आर्थिक वर्ष २०७९ देखि २०८२ सम्मका गाउँ सभा र कार्यपालिका बैठकका निर्णयहरू सार्वजनिक गर्नुपर्ने, लेखापरीक्षण प्रतिवेदन उपलब्ध गराउनुपर्ने, गाउँपालिकामा कार्यरत स्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीहरूको नियुक्ति प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्ने लगायतका विषयहरू समेटिएका छन् ।
उनीहरूले स्थानीय निकायमा हुने निर्णय र प्रक्रियामा पारदर्शिता कायम नगरे गाउँपालिकाको सम्पूर्ण कार्य अवरुद्ध गर्ने चेतावनीसमेत दिएका छन् । धर्ना बसेका जनप्रतिनिधिहरूले जनताको करबाट संकलित बजेट कानुनसम्मत ढंगले खर्च गर्नुपर्छ भन्दै आफूहरूको आन्दोलन न्यायिक रहेको बताए ।
यसैबीच, गाउँपालिका अध्यक्ष महमद सउदले भने भदौ ६ गते गाउँ सभा आह्वान गर्ने तयारी भइरहेको बताए । उनले भने, ‘गाउँ सभाबाट मागहरू छलफल गरी आवश्यक निर्णय लिइनेछ ।’ उनले जनप्रतिनिधिहरूका मागहरू गम्भीर रूपमा लिइएको र समाधानका लागि छलफलको बाटो अपनाइने आश्वासन दिएका छन् ।
धर्ना जारी रहँदा गाउँपालिका प्रशासनले स्थानीय तहका कर्मचारी नियुक्ति प्रक्रिया र अन्य विषयमा औपचारिक जवाफ दिने तयारी गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


