रौतहटमा गाँजासहित एक जना पक्राउ, नगद समेत बरामद

रौतहट, ४ भदौ । रौतहटको गुजरा नगरपालिका–२ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीय गोपालबहादुर थिङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार विशेष सूचनाका आधारमा प्रहरी चौकी रंगपुर र चन्द्रनिगाहपुर प्रहरीले संयुक्त अपरेसन सञ्चालन गरी थिङलाई आफ्नै घरमा लागूऔषध कारोबार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
प्रहरीले घर खानतलासी गर्दा कोठामा लुकाइराखिएको ३ किलो ५० ग्राम गाँजा बरामद गरेको जनाएको छ । साथै, नगद ७८ हजार नेपाली रुपैयाँ र ६ सय १० भारतीय रुपैयाँ समेत फेला पारेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका थिङसँग हाल थप अनुसन्धान भइरहेको छ । उनले गाँजा कहाँबाट ल्याएको भन्नेबारे भने प्रहरी अनुसन्धान जारी रहेको जनाएको छ ।
यसअघि, करिब एक साताअघि सोही इलाका प्रहरी चन्द्रनिगाहपुरको टोलीले बारा जिल्लाको निजगढ नगरपालिका–१२ का ३४ वर्षीय दीपक थिङलाई धन्सार क्षेत्रबाट ९ किलो ७५० ग्राम गाँजासहित पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार गाँजा व्यापार र तस्करी नियन्त्रण गर्न नियमित अपरेसन र निगरानीलाई थप कडा पारिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


