जनकपुरधाम, ४ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले गौर हत्याकाण्डको अनुसन्धान अगाडि बढाउन सर्वोच्च अदालतले जारी गरेको परमादेशको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

जनकपुरधामस्थित भानुचोकमा बुधवार आयोजित विरोध प्रदर्शनमा पार्टीका नेता तथा कार्यकर्ताहरूले प्रधानमन्त्रीको पुत्ला जलाउँदै नाराबाजी गरेका थिए ।

मधेस प्रदेशसभा सदस्य रामअशिष यादवले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउन वर्तमान सरकारले गौर हत्याकाण्डलाई राजनीतिक प्रतिशोधको हतियारको रूपमा प्रयोग गरेको आरोप लगाएका छन् । यादवले यो घटनामा तत्कालिन नेकपा माओवादीको मधेशी मुक्ति मोर्चाको नेतृत्वको संलग्नता रहेको समेत बताए ।

जसपा नेपालका नेता विसुनदेव साहले अदालतको परमादेश मधेश आन्दोलनबाट प्राप्त संघीयता, समावेशिता र भाषिक अधिकारजस्ता उपलब्धी समाप्त गर्ने षडयन्त्र अनुरुप आएको आरोप लगाए । उनले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरूको निर्देशनमा यस्तो कदम चालिएकोमा आक्रोश व्यक्त गर्दै परमादेश फिर्ता नभएसम्म मधेशसहित देशभर आन्दोलन जारी राख्ने चेतावनी दिए ।

सर्वोच्च अदालतले १९ वर्षअघि भएको गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको थियो । जसपा नेपालले भने निष्पक्ष अनुसन्धानको पक्षमा सहयोग गर्ने बताउँदै पनि राजनीतिक उद्देश्यले परमादेश जारी भएको दाबी गरेको छ । विरोधका क्रममा कुनै प्रकारको सुरक्षा घटना नभए पनि जसपाका कार्यकर्ताहरू र प्रहरीबीच छोटो समयका लागि विवाद भएको थियो ।