रौतहट, ४ भदौ । रौतहटको सदरमुकाम गौर नगरपालिका वडा नम्बर–५ मा दुई दिनको फरकमा दुई पुरुषको हत्या हुँदा स्थानीयवासी त्रसित भएका छन् ।

बुधवार बरहवा पुलनजिक २२ वर्षीय सहाबुद्दीन मियाको चक्कु प्रहार गरी हत्या गरिएको छ भने दुई दिनअघि ५९ वर्षीय उपेन्द्र कुमार भगतको शव नेपाल लजको कोठा नम्बर २०२ मा फेला परेको थियो ।

सहाबुद्दीन मियाको हत्या गर्ने २० वर्षीय सनोज रामलाई प्रहरीले चक्कुसहित नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानअनुसार दुबै युवक लागुऔषध सेवनकर्ता थिए । मद्यस्त अवस्थामा झगडा हुँदा मियामाथि रामले चक्कु प्रहार गरेको खुलेको छ । रामको हातमा पनि घाउ देखिएको छ ।

अर्कोतर्फ, उपेन्द्र भगत गत साउन २९ गते सप्तरीको खडक नगरपालिका–७ बाट नेपाल लजमा आएका थिए । उनी बेपत्ता भइसकेको परिवारको उजुरीपछि अनुसन्धानमा लागिएको थियो । मृतकको छोरा विकासकुमार भगतले आर्थिक लेनदेनसँग सम्बन्धित आपराधिक हत्याको आशंका गरेका छन् । लजका संचालक अमित केशरीले उपेन्द्र यसअघि दुई पटक लजमा बसेको जानकारी दिँदै सोमबार कोठा जाँच गर्दा शव फेला परेको बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणि गिरीले घटनाको विषयमा अनुसन्धान जारी रहेको जानकारी दिए । दुई दिनमा भएका यी घटनाले सदरमुकाम गौरमा डरको वातावरण सिर्जना गरेको छ भने स्थानीयवासी असुरक्षित महसुस गरिरहेका छन् ।